Search
Close this search box.

नमूना संयुक्त राष्ट्रसंघीय महासभा सुरु

हेटौंडा–विद्यार्थीलाई अन्तर्राष्ट्रिय संस्थाको अवधारणा बुझाउने उद्देश्यले हेटौंडा–४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयको आयोजनामा आइतबारबाट नमूना संयुक्त राष्ट्रसंघीय महासभा (मोडल युनाइटेड नेशन) सुरु भएको छ ।

नवोदय शिशु सदनमा सुरु भएको महासभा तीन दिनसम्म चल्नेछ । महासभाको लागि चाहिने एजेण्डाहरु आइतबार समुहगत रुपमा प्रस्तुत गरिएको थियो । नमूना महासभामार्फत विद्यार्थीको नेतृत्व विकास हुने, सामूहिक छलफलमा सहभागी हुनुका साथै आफ्नो विचार प्रस्तुत गर्ने क्षमताको विकास हुने अपेक्षा लिइएको छ ।

यसअघि २ पटक भर्चुअल रुपमा आयोजना भइसकेको नमूना संयुक्त राष्ट्र संघीय महासभा (मोडल युनाइटेड नेशन) बैठक यसपटक भौतिक उपस्थितिमै आयोजना गरिएको हो ।
नमूना संयुक्त राष्ट्र संघीय महासभामा महासचिवको भूमिका निर्वाह गरिसकेकी छात्रा रेजा विष्टको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा हेटौंडा ४ का वडा अध्यक्ष नवीन सिग्देल, डब्लुएचओका मकवानपुर प्रतिनिधि सन्तोष कर्ण, हेटौंडा उपमहानगरका शिक्षा शाखा प्रमुख गंगाधर रिमाल, विद्यालयका निर्देशक पुरन बहादुर जोशी प्याव्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदी लगायतको उपस्थिती रहेको थियो ।

महासभाको आयोजनाले विद्यार्थीमा अन्तर्राष्ट्रिय सम्बन्ध, नीति, योजनाका विषयमा पनि जानकारी हुने, संयुक्त राष्ट्र संघको वास्तविक संरचना र अभ्यासमा आधारित भएर नमूना अभ्यास गर्न लागिएको विद्यालयको भनाइ छ । महासभामा विश्व स्वास्थ्य संगठनको तर्फबाट विश्वभर आनुवंशिक विकारलाई सम्बोधन गर्ने, संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को तर्फबाट विश्वव्यापी सुरक्षाका लागि उपनिवेशको कमी, आर्थिक र वित्तीय मामिला परिषद्ले बढ्दो मुद्रा स्फिति विश्वव्यापी मन्दी विरुद्धको लडाइँलाई प्रमुख मुद्दा बनाउँदा खाद्य तथा कृषि संगठनले राम्रो उपजका लागि भविष्यको कृषि प्रविधिको विकासलाई प्रमुख एजेण्डामा छलफल गरिने जनाइएको छ ।

नमूना महासभामा हेटौंडा एकेडेमी विद्यालय, तुलसी मेहर विद्यालय, बालजागृति इंग्लिस सेकेण्डरी स्कूल, मकवानपुर बाल विद्या सदन, ब्रहमदिक एकेडेमीका विद्यार्थीले पनि सहभागी जनाएका छन् ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan