हेटौंडा–बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले संविधानले प्रदत्त गरेको धार्मिक स्वतन्त्रता र धार्मिक सद्भावलाई बढवा दिनको लागि नेपालमा धार्मिक आयोगको आवश्यकता भएको बताएका छन् । क्रिश्चियन मण्डलीको आयोजनामा हेटौंडामा भएको धार्मिक आयोगको आवश्यकता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा राज्यमन्त्री प्रजाले सबै धर्मावलम्बीहरुलाई समेट्ने र उनीहरुको अपनत्व हुने धार्मिक आयोग गठन गर्न संघीय सरकारलाई दबाब दिनुपर्ने बताएका हुन् ।
धार्मिक आयोग गठनको लागि राज्यलाई लामो समयदेखि झक्झक्याइरहे पनि चासो नदिइएको उनले बताए । ‘धार्मिक आयोग क्रिश्चियनहरुको लागि मात्र होइन, सबै धर्म मान्नेहरु अट्न सक्ने हुनुपर्छ ।’ उनले भने । ‘हामीले कुनै नौलो कुरा मागेको होइनौं, संविधानमा उल्लेख भएको अधिकार मागेका हौं । त्यसको लागि सबैले एक भएर आवाज उठाउनुपर्छ ।’
कार्यक्रममा ईसाई संघकी केन्द्रीय अध्यक्ष पार्वती शाह ठकुरीले आफूहरुले धार्मिक आयोग र राजनीतिक दलहरुमा इसाई संगठनको माग गरिएको लामो समय भइसकेको सुनाए । राज्यलाई आयोगको महत्वबारे बुझाउन सबै धर्मका अगुवाहरुले आवाज उठाउनुपर्ने उनले बताइन् ।
अन्तरक्रियामा ईश्वर पाख्रिन, शुभभल घलान, विष्णु बिडारीलगायतले आयोगसम्बन्धमा आफ्नो धारणा राखेका थिए ।

