हेटौंडा–राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान विपरीत काम गरेको भन्दै सत्ता गठबन्धनमा रहेका मकवानपुरका युवाहरुले ध्यानाकर्षण गराएका छन् । सत्ता गठबन्धनका तीन युवा संगठनले शुक्रबार मकवानपुरका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश भएको नागरिकता विधेयक संविधानले सुनिश्चित गरेको १५ दिनको समय सिमा भित्र प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधानको पालना र संरक्षण गर्नुपर्ने कर्तव्यको संवैधानिक व्यवस्था माथि नै गम्भीर प्रहार गरेको ज्ञापनपत्रमा उल्लेख छ । राष्ट्रपतिको कदमले नागरिकता विहिन नेपाली नागरिकहरुलाइ नागरिकता प्राप्त गर्ने संवैधानिक अधिकारबाट बञ्चित गरेको भन्दै ध्यानाकर्षण जनाइएको छ ।
नेपाल तरुण दल मकवानपुरका सचिव सन्तोष सापकोटा, वाइसिएल मकवानपुरका इन्चार्ज अनिता स्याङ्बो र युवा संघ नेपालका मकवानपुर उपाध्यक्ष सफल अधिकारीको संयुक्त हस्ताक्षर रहेको ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय मकवानपुरका अधिकारीलाई बुझाइएको हो । चाडपर्व नजिकिँदै गर्दा मिति नाघेको खाद्यान्न, खाद्यान्नमा भएको महङ्गीको विषयमा पनि युवाहरुले प्रशासनको ध्यानाकर्षण गराएका छन् ।
व्यापारका लागि मिति समाप्त भएको अखाद्य वस्तु बिक्री वितरणले उपभोक्ताको स्वास्थ्यमा असर पर्न जाने हुनाले र बिक्री वितरणमा मनलाग्दी दरभाउ राखेर बिक्री वितरण गर्ने गरिएको पाइएकोले प्रशासनले नियमित बजार अनुगमन गर्न पनि माग गरिएको छ ।

