हेटौंडा–नजिकिँदै गरेको दशैं, तिहारलगायतको चाडपर्वको अवसरमा हेटौंडामा विभिन्न शिक्षक संगठनहरुले संयुक्त रुपमा शुभकामना आदानप्रदान गरेका छन् ।
शनिबार एक चियापान कार्यक्रमकाबीच नेपाल शिक्षक संघ, एकीकृत अखिल नेपाल शिक्षक संगठन र प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरले संयुक्त रुपमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेका हुन् । बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मुक्तानको प्रमुख आतिथ्यतामा भएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष सर्केस घलान, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष सुर्यचन्द्र न्यौपाने, शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख दिनानाथ गौतमले शुभकामना व्यक्त गरेका थिए ।
एकीकृत अखिल नेपाल शिक्षक संगठन मकवानपुरका अध्यक्ष गोकुल लम्सालको सभाध्यक्षतामा भएको कार्यक्रममा पेशागत संस्थाहरुको तर्फबाट नेपाल शिक्षक संघ जिल्ला अध्यक्ष रामकुमार अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरका अध्यक्ष कुमार रुम्बाले सहजीकरण गरेका थिए ।

