हेटौंडा– सिम्रन क्षेत्रीको उपन्यास झुमरमाथि सोमबार हेटौंडामा अन्तरक्रिया भएको छ । आँचल साहित्य कला पुञ्जको आयोजनामा क्षेत्रीको उपन्यासमाथि भएको अन्तरक्रियामा समीक्षकहरू घनश्याम घिमिरे, नीरा शर्मा र कवि छवि अनित्यले पुस्तकमाथि परिचर्चा गरेका थिए ।
पुस्तकबारे बोल्दै घिमिरेले पुस्तकले नारीको पक्षमा वकालत गरेको र सामाजिक कथाको रुपमा उपन्यास आएको बताए । अर्का समीक्षक नीरा शर्माले पुस्तक सशक्त रहेको भाषा आकर्षणयुक्त रहेको बताइन् । छवि अनित्यले पुस्तकको कथावस्तु नेपाली समाजको यथार्थ चित्रण रहेको बताए । आँचलकी अध्यक्ष भावना सापकोटाको सभाध्यक्षतामा भएको उक्त कार्यक्रममा साहित्यकार निमेष निखिलको प्रमुख आतिथ्यता रहेको थियो ।
संस्थाकी कोषाध्यक्ष निर्मला ब्लोनलले स्वागत मन्तव्य राखेको कार्यक्रममा संस्थाकी सचिव सविता तिमल्सिनाले सहजीकरण गरेकी थिइन् । साहित्यकारहरू आर.सी.रिजाल, मुना अर्याल, सुवास खनाल, सानु खनाल, मसान उपासक, श्रीराम अधिकारी लगायतले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा पाठकीय टिप्पणीको रुपमा देवराज तिवारी, सम्झना अधिकारी र अनु रोक्काले मन्तव्य राखेका थिए । कार्यक्रममा लेखकहरू ज्योत्सना श्रेष्ठ, भवानी तिमल्सिना, मिन प्रसाद लामिछाने, राजकुमार लामिछाने , पूर्णकला घिमिरे, मञ्जु खराल, संप्रस पौडेल लगायतको सहभागिता रहेको थियो ।

