हेटाैंडा- नेपाली कांग्रेस मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ ख का सभापति रन्जन कालाखेतीले जिल्ला सदस्य चन्द्रप्रसाद न्यौपाने माथि दुव्र्यवहार गरिएको भनी फैलाइएको हल्ला निराधार आरोप भएको बताएका छन् ।
सभापति कालाखेतीले गत असोज १३ गते भएको दशै, तिहार लगाएत पर्वको अवसरमा भएको शुभकामना कार्यक्रममा जिल्ला सदस्य न्यौपानेलाई बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँबाट दुव्र्यवहार भएको भनी गरिएको हाल्ला निर्वाचन नजिकिँदै जादा बदनाम गर्ने उद्देश्यले गरिएको प्रपञ्च मात्र भएको दावी गरेका छन् ।
उनले सामाजिक सञ्जालमा भाइरल भएको भनिएको भिडियोमा जिल्ला सदस्य न्यौपानले बरु आफुलाई हातपात गर्न खोजेको स्पष्ट देखिने भन्दै कार्यक्रममा बोल्ने अवसर नदिएको विषयलाई लिएर न्यौपानेले विवाद गरेको दावी गरे ।
शुभकामना कार्यक्रममा थोरै व्यक्तिहरुले मात्रै बोल्ने निर्णय भएकोमा मञ्चमा बसेका जिल्ला सदस्य न्यौपानेल आफुले पनि बोल्न पाउनुपर्ने भन्दै विवाद गरेको सभापति कालाखेतीले स्पष्ट पारे ।
जिल्ला सदस्य न्यौपानेले विवाद गरेपछि प्रदेश सभापति बानियाँले हल्ला नगर्न र कार्यक्रममा बोलिरहेका जिल्ला सदस्य भिमसेन महतको कुरा सुन्न भनेको तर कुनैपनि दुव्र्यवहार नगरेको कालाखेतीले दावी गरे ।
लामो समयदेखि नेपाली कांग्रेसको राजनीति गर्दै आएका जिल्ला सदस्य र अग्रज हुनुको नाताले पनि जिल्ला सदस्य न्यौपानेप्रति सम्मान रहेको बताउँदै क्षेत्रीय सभापती कालाखेतीले सामाजिक सञ्जालमा चलाइएको हल्लाको पछि नलाग्न र वास्तविकता बुझेर मात्र प्रतिक्रिया दिन आग्रह गरे ।

