Search
Close this search box.

जनताकाे अवस्था परिवर्तन गर्न गठबन्धनकाे प्राथमिकता हुनेछ: बानियाँ

हेटाैंडा- लाेकतान्त्रिक बाम गठबन्धनबाट नेपाली कांग्रेसका  मकवानपुर क्षेत्र नम्बर २ (ख) का प्रदेशसभा सदस्य उम्मेदवार ईन्द्रबहादुर बानियाँले जनताकाे अवस्था परिवर्तन गर्नु लाेकतान्त्रिक बाम गठबन्धनकाे प्राथमिकता भएकाे बताएका छन् । १० वर्षे युद्ध र जन आन्दाेलनमार्फत प्राप्त परिवर्तनलाई स्थायित्व दिँदै जनताकाे अवस्था परिवर्तन गर्नु आजकाे आवश्यकता भएकाे उनकाे भनाइ थियाे ।

कांग्रेस माओवादी, एकीकृत समाजवादीलगायतकाे गठबन्धनले शनिबार मनहरीकाे रजैयामा आयाेजना गरेकाे अगुवा कार्यकर्ता भेलामा बाेल्दै नेता बानियाँले जनताकाे सेवा गर्ने भावना भएकाे नेता र नेतृत्व चिन्नुपर्नेमा जाेड दिए ।

‘एमाले नीति र नेता ठिक नभएकाे पार्टी हाे, ओलीकाे उदण्डता खप्न नसकेर माधव नेपालले नेकपा समाजवादी पार्टी जन्माउनु परेकाे हाे । अब याे गठबन्धन कम्तिमा १० वर्ष टिक्नेमा कुनै शंका छैन ‘ उनले भने- ‘हिजाे इन्द्र बानियाँले कांग्रेसका काम बढी गर्थ्याे हाेला अब सबै पार्टीका नेतालाई प्राथमिकता दिँदै सबै खालका जनताकाे काम गर्नेछाैं, जनताकाे काम गर्न कुनै पनि विभेद नर्दैनाैं ।’

गठबन्धनभित्र इमान्दारीपूर्वक सबैले ताेकिएका उम्मेदवारकाे चिन्हमा मतदान गर्न उनले आग्रह गरे । गठबन्धनकाे सरकार भएपछि प्रदेशभर कक्षा १२ सम्म निशुल्क शिक्षा, गरिब बिपन्नलाई निशुल्क स्वास्थ्य बिमा, कम्तिमा १० हजार गरिबका घर निर्माण गर्ने कार्य पहिलाे प्राथमिकता दिइने उनले सुनाए ।

केपी ओलीले देश टुक्राउँछु भन्ने सिके राउत र दमनकारी कमल थापालाई लिएर हिँडेका कारण उनकाे नियत प्रष्ट भएकाे बानियाँले बताए । ‘मंसिर ४ मा जनताले प्रतिगमनकारीलाई ठेगान लगाउनेछन् नेता र नीति ठीक नभएको पार्टीले मुलुकलाई निकास दिन सक्दैन त्यसैले गठबन्धनका उम्मेदवारलाई मतदान गर्न अनुरोध गर्दछु ।’ बानियाँले भने । नेपालका असली वामपन्थी पार्टीहरु अहिले कांग्रेससंगको लोकतान्त्रिक–वाम गठबन्धनमा समाहित भएको भन्दै उनले केपी बा प्रधानमन्त्री र डोरमणि काका मुख्यमन्त्री हुँदा एमालेका उम्मेदवार लालबहादुर र युवा भन्ने महेशले कति बजेट ल्याए ? भन्दै प्रश्न गर्न उनले आग्रह गरे ।

प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन चाहिने योग्यता नै थाहा नभएका एमालेका उम्मेदवारले अहिले गठबन्धनका उम्मेदवारलाई ‘टुरिष्ट’, ‘बृद्ध’ जस्तो आरोप लगाइरहेको भन्दै बानियाँले भने, ‘१३ जिल्लाको जोकोही नेता प्रदेशसभामा र जुनसुकै जिल्लाको भएपनि नेपालका जुनकुनै जिल्लामा गएर प्रतिनिधिसभामा उठ्न पाइन्छ भन्ने ति युवा नेतालाई जानकारी होस् । हामी नेपाली हौं, अझ मकवानपुरका हौं, मकवानपुरको सेवा गर्न राजनीतिमा लागेका छौं । २ नम्बर क्षेत्रको विकास गर्न आएका हौं ।’ जनताको अवस्था परिवर्तन गर्न गठबन्धन गरेको उल्लेख गर्दै उनले गठबन्धनकै पक्षमा मतदान गर्न अपिल गरे ।

कार्यक्रममा मकवानपुरको क्षेत्र नम्बर २ को (क) का उम्मेदवार नेकपा माओवादी केन्द्रका नेतृ कुमारी मोक्तानले गठबन्धन फुटाउन धेरै चलखेल भइरहेको भन्दै यसअघिका चुनावमा भएमा सामान्य मनमुटावलाई प्रतिशोधको भावना नराखी गठबन्धनका उम्मेदवार जिताउनेतर्फ लाग्न अनुरोध गरिन् । गत स्थानीय तहको निर्वाचनमा मकवानपुरमा गठबन्धन सत प्रतिशत सफल भएको स्मरण गर्दै यस निर्वाचनमा पनि ६ जना नै उम्मेदवारले विजयको माला पहिर्याउने दावी गरन् । गठबन्धन अहिले राष्ट्रिय आवश्यकता भएकाे भन्दै चुनावपछि पनि गठबन्धन जारी नै रहने उनले विश्वास दिलाइन् । मकवानपुरको विकास पनि गठबन्धन मिलेरै गर्ने हो’, गठबन्धनका उम्मेदवारहरु मुख्यमन्त्री देखि केन्द्रको मन्त्रीसम्म हुनसक्ने हैसियतको भएको उल्लेख गर्दै मोक्तानले सत्ता गठबन्धनको जितले मात्रै मुलुकको विकास र हित हुनसक्ने बताइन् ।

कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौलाको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री सन्तबहादुर चेपाङ, नेकपा (एस) का केन्द्रीय सदस्य राजाराम स्याङ्तान, कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, नेकपा माओवादी केन्द्र मनहरी अध्यक्ष रामप्रसाद कालाखेती लगायतले मकवानपुरमा गठबन्धनको जित सुनिश्चित रहेको दावी गर्दै उम्मेदवारलाई जिताउन सबै एकजुट हुन आग्रह गरे ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan