Search
Close this search box.

ओलीले निरंकुशता लाद्न संविधानमाथि प्रहार गरे: डिना

हेटौंडा-नेपाली कांग्रेसको केन्द्रीय सहमहामन्त्री तथा मकवानपुर निर्वाचन क्षेत्र नम्वर १ मा सत्तारुढ गठबन्धनबाट प्रतिनिधिसभाको उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले केपी ओलीले निरंकुशता लाद्न संविधानमाथि प्रहार गरेको आरोप लगाएकी छन् ।
आईतबार बागमती गाउँपालिकामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै डिनाले यस्तो बताएकी हुन् । नेपालीहरुको बलिदानबाट प्राप्त संविधानले व्यवस्था गरेको संसद ओलीले आफ्नो निरंकुशता लाद्न विघटन गरेको बताइन् । उनले संविधान निर्माणमा आफूले पनि हष्ताक्षर गरेको भन्दै नेपालको संविधानको कुनैपनि धारामा संसद विघटन गर्न पाउने अधिकार उल्लेख नभएको सुनाइन् । उनले अहिलेको लोकतान्त्रिक बाम गठबन्धन चुनाव जित्नको लागि नभई संविधान र लोकतन्त्रको रक्षाको निम्ति बनेको बताइन् । ‘अहिलेको यो गठबन्धन चुनाव जित्नको लागि मात्रै बनेको होइन । संविधान र लोकतन्त्रको रक्षा गर्नको निमित्त बनेको हो । त्यसैले यो गठबन्धनले चुनावपछि पनि निरन्तरता पाउनेछ’,उनले भनिन् । डिनाले शिक्षा,स्वास्थ्य,विद्युत,खानेपानी र बाटो निर्माण कार्य आफ्नो प्राथमिकतामा रहेको भन्दै निर्वाचन पश्चात आफूले सो कामहरु गर्ने दावी गरिन् । यस्तैगरि मकवानपुर निर्वाचन क्षेत्र नम्वर १ को प्रदेशसभा ख का उम्मेदवार प्रेम बहादुर पुलामीले एमालेले कमल थापालाई आफ्नो चुनाव चिन्ह बेचेको आरोप लगाए । ‘एउटा पार्टीले चुनाव चिन्ह बेचेको छ रे । अर्कोले चुनाव चिन्ह किनेर आएको छ रे । चुनाव चिन्ह किनबेच गरेर आउनेलाई जिताएर पठायो भने भोली देशको अवस्था कस्तो होला ?’,उनले प्रश्न गरे । पुलामीले गठबन्धन अहिलेको आवश्यता रहेको भन्दै एकअर्कालाई धोका नदिन आग्रह गरे । गठबन्धनको एउटा मात्रै उम्मेदवार हारेपनि प्रदेश र संघीय सरकार बनाउन समस्या हुने भन्दै दृढ भएर गठबन्धनमा भोट हाल्न कार्यकर्ताहरुलाई उनले आग्रह गरे ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan