Search
Close this search box.

तनहुँमा नरभक्षी बाघलाई नियन्त्रणमा लिन माग

हेटौंडा– गत कात्तिक ३ गते तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका ३ की ११ वर्षीया बालिकालाई आक्रमण गरी मार्ने नरभक्षी बाघलाई नियन्त्रणमा लिन सम्बन्धित सरोकारवालालाई ध्यानाकर्षण गराइएको छ । तनहुँमा सो बाघले मानिसमाथि क्रमवद्ध रुपमा आक्रमण गरी आतंक फैल्याइरहे पनि त्यस बाघलाई नियन्त्रणमा लिने, मार्ने वा अन्य केही उपाय अपनाउनेबारे सम्बन्धित निकायले ध्यान नदिएको भन्दै सो भेगका स्थानीय आक्रोशित बनेका छन् ।
बन्दीपुर गाउँपालिका ३ का चन्द्रबहादुर चेपाङ र विष्णुमायाकी ११ वर्षीया छोरी डीना चेपाङलाई बाघले आक्रमण गरी मारेको थियो । त्यसअघि सो बाघको आक्रमणबाट २ जनालाई मारिसकेको र एकजनालाई घाइते बनाइसकेको स्थानीयले बताएका छन् । बालिकाको ९ दिने पुण्यतिथिमा आयोजित श्रद्धाञ्जलीसभामा पुगेका नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजालगायत जनप्रतिनिधिले सो बाघलाई नियन्त्रणमा लिई मार्न वा अन्य कारबाही गर्न सम्बन्धित निकायमा ध्यानाकर्षण गराएका छन् ।
कांग्रेस नेता पौडेलले सोही कार्यक्रमकै बीच तनहुँका प्रमुख जिल्ला अधिकारी र वन मन्त्रालयका कर्मचारीलाई फोन सम्पर्क गरी नरभक्षी बाघको खोजी गरी तत्काल नियन्त्रणमा लिन निर्देशन दिए । एक हप्ताभित्र सो बाघलाई नियन्त्रणमा लिई मार्न वा बन्धक बनाई राख्न पौडेलले निर्देशन दिए ।
बागमती प्रदेश भौतिक पूर्वाधार विकास राज्यमन्त्री प्रजाले पनि बाघले पटकपटक मानिसमाथि आक्रमण गरी ज्यान लिइरहे पनि सम्बन्धित निकायले बाघलाई नियन्त्रणमा लिन ध्यान नदिनु दुखद भएको बताए । सो बाघलाई तत्काल नियन्त्रणमा लिई थप मानवीय क्षति हुन नदिन उनले पनि सम्बन्धित निकायमा निर्देशन दिए । मृतकको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनको लागि पनि ध्यानाकर्षण गराइएको थियो ।
श्रद्धाञ्जली सभामा बन्दीपुर ३ का वडाध्यक्ष परमेश्वर भट्टराई, नेपाली कांग्रेसका गाउँपालिका सभापति कर्ण खत्रीलगायतको सहभागिता रहेको थियो । मृतक प्रजाको परिवारलाई गाउँपालिकाबाट तत्काल ५० हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने निर्णयसमेत भएको छ ।

बाघकाे आक्रमणमा परी मृत्यु भएकी ११ वर्षीया डीना चेपाङ
केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan