हेटौंडा–लोकतान्त्रिक बाम गठबन्धनकातर्फबाट मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विरोध खतिवडाले आफूलाई निर्वाचनमा हराउनको लागि एमाले अध्यक्ष केपी शर्मा ओली नै लागिपरेको आरोप लगाएका छन् । आफूलाई निर्वाचन हराउनको लागि केही मानिसहरुमार्फत केपी ओलीले १० करोड रुपैयाँ खर्च पठाएको दावी गरेका छन् ।
आज हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ मा गठबन्धनको संयुक्त निर्वाचन परिचालन कार्यालय उद्घाटन गर्दै उम्मेदवार खतिवडाले एमालेसंग विद्रोह गरी फरक पार्टी बनाएका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र विरोध खतिवडालाई यो चुनावमा जसरी पनि हराउँनुपर्छ भनेर केही व्यक्ति लागिपरेको आफ्नो जानकारीमा आएको बताए । ‘विरोध र माधवलाई जसरी पनि यो चुनावबाट हराउँनुपर्छ भनेर केही मान्छे लागिपरेको सुनेको छ ।’, खतिवडाले भने ,‘एमालेका अध्यक्ष केपी ओलीबाट दश करोड रुपैंया बुझेर केही मान्छे मलाई हराउँेन लागेका छन् अरे।’ खतिवडाले आफूलाई हराउने एमाले अध्यक्ष ओली जति पनि खर्च गर्न तयार छन् भन्ने सुन्नमा आएको बताए । ‘पैसा बुझेर हराउन लागेकाहरु मेरा गोप्य कुरा तथा कमजोरी पत्ता लगाउन खटिएका छन् भन्ने सुनेको छु ।’ खतिवडाले भने ।
खतिवडाले मकवानपुरमा आफूहरु गठबन्धनका उम्मेदवार रहेकाले कांग्रेस, माओवादीका मतदाताहरुलाई भ्रममा नपर्न आग्रह गरे ।‘कतै कांग्रेस त कतै माओवादी केन्द्रबाट उम्मेदवार छैनन् भनेर भ्रमहरु छरिएको छ ।’ खतिवडाको भनाई छ,‘ हामी शेरबहादुर, प्रचण्ड र माधव नेपालको नेतृत्वमा बनेको गठबन्धनको साझा उम्मेद्वार हौं ।’
उम्मेदवार खतिवडाले प्रतिनिधीसभा क्षेत्र नम्बर २ मा एमालेबाट निर्वाचित झण्डै आधा दर्जन वडाअध्यक्ष आफ्नो चुनावी प्रचारमा लागिसकेका दोहो¥याए । ‘गत स्थानीय तहको चुनावमा एमालेको सूर्य चिन्हबाट चुनाव जितेका आधा दर्जन वडाअध्यक्ष मेरो चुनावी प्रचारमा लागिसके ।’ खतिवडाले भने, ‘उनीहरुको नाम भनौं भने अरिङ्गालले मुख सुन्निने गरी हान्लान् ।’ खतिवडाले ती वडाध्यक्षहरुको नाम अहिले भन्दा उनीहरुमाथि असुरक्षा हुने बताए ।
यस्तै,निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (क) का उम्मेदवार कुमारी मोक्तानले सरकारमा रहँदा आफ्नो क्षेत्रको विकासका लागि सकेजति काम गरेको चर्चा गरिन् ।‘मैले आफ्नो क्षेत्रका लागि सकेजति काम गरेको छु ।’ मोक्तानले भनिन्, ‘सुरुमा एमालेका डोरमणि पौडेल मुख्यमन्त्री भएका बेला मेरा क्षेत्रका लागि मैले अघि सारेका योजनाहरु पर्नै नदिएपनि अहिले गठबन्धनको प्रदेश सरकारबाट हामीले सकेजति काम गरेका छौं ।’
कार्यक्रममा गठबन्धन मकवानपुरका संयोजक समेत रहेका नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्द लामाले एमाले अहिले पनि अध्यक्ष केपी ओलीको नेतृत्वमा प्रतिगमन फर्काउन षड्यन्त्र भइरहेको टिप्पणी गरे । ‘अहिले पनि केपी ओलीको नेतृत्वमा देशमा प्रतिगमन फर्काउन षडयन्त्र गरिदैछ । त्यस्ता षड्यन्त्र असफल तुल्याउनका लागि गठबन्धन गरी हामी चुनावमा होमिएका हौं ।’ नेता लामाले मकवानपुरमा विरोध खतिवडा, कुमारी मोक्तान पनि नेपाली कांग्रेसकै उम्मेद्वार भएकाले मतदातामाझ भ्रम छरिएमा नअलमलिन आग्रह समेत गरे ।

