हेटौंडा–नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’ का उम्मेदवार ईन्द्रबहादुर बानियाँले नेकपा एमाले नक्कली कम्युनिष्ट भएको भन्दै उसले मुलुक र जनताको विकास र सुख नचाहने पार्टी भएको बताएका छन् । चुनावी अभियान अन्तर्गत मंगलबार मनहरी गाउँपालिका–३ हाँडीखोलामा भएको लोकतान्त्रिक–वाम गठबन्धनको चुनाव प्रचार सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा उनले सनकको भरमा संसद विघटन गर्नेलाई फेरि किन भोट दिने भन्दै आम जनताले एमालेसँग प्रश्न गर्नु जरुरी रहेको बताएका हुन् ।
‘माओवादीले र नेकपा एकीकृत समाजवादीले केपी ओली नक्कली कम्युनिष्ट भनेर छोडेर गठबन्धनमा आएका छन् । कांग्रेसले माओवादीसंग शान्ति प्रक्रियादेखि नै सहकार्य गर्दै आएको हो’, बानियाँले थपे, ‘केपी ओलीको ज्यादती र प्रतिगमनको समयमा एक भएर मुलुकलाई जोगाएका दलहरु अहिले गठबन्धन गरेर चुनावी मैदानमा रहेका छौं ।’ गणतन्त्रका लागि लडेकाहरुलाई गोली हान्ने कमल थापा र देश टुक्राउँछु भन्ने सीके राउत लगायतलाई एमालेले बोकेर हिंडेको भन्दै उनले एमालेले जितेमा मुलुक फेरि दुर्घटनामा जानसक्ने बताए ।
एमालेले सँधै झुटको राजनीति गरेको भन्दै उसबाट जनताको शान्ति र समृद्धि सम्भव नभएको बताए । ‘एमालेले मुलुकमा सधैं झुटा आश्वासन र नारा बाहेक केही दिन सकेको छैन’, बानियाँले भने, ‘एमालेको नेता, नीति र नियति ठीक छैन, भोगाई पनि ठीक हुन्न ।’ एमालेलाई मनहरी गाउँपालिकाले स्थानीय तहमै अस्वीकार गरिसकेकोले अब प्रदेश र संघमा अस्वीकार गर्नुपर्ने बताए । गत स्थानीय निर्वाचनमा एमालेले मनहरीमा गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित एउटा पनि वडा अध्यक्ष जित्न नसकेको प्रसंग निकाल्दै उनले अबको निर्वाचनबाट मकवानपुर एमालेविहीन हुने बताएका हुन् ।
कांग्रेको ३ नम्बर प्रचारप्रसार समिति संयोजक रमेश पुरीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा ९एस०का जिल्ला सचिवालय सदस्य भूमिनन्द अर्याल, नेकपा माओवादी केन्द्र मनहरी गाउँ कमिटी अध्यक्ष रामप्रसाद कालाखेती, कांग्रेस महाधिवेशन प्रतिनिधि शंकर न्यौपाने, गाउँपालिका सभापति प्रकाश बर्तौला, माओवादीका नेता सञ्जिव पाठक, नेकपा एसका राजन पाण्डे लगायतले गठबन्धनका उम्मेदवार जिताउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका थिए । कार्यक्रमकैबीच गठबन्धनको मनहरी ३ र ४ नम्बर वडास्तरीय सम्पर्क कार्यालयसमेत उद्घाटन गरिएको थियो ।


