भीमफेदी- गठबन्धन दल नेकपा एकीकृत समाजवादीका नेता तथा मकवानपुर प्रतिनिधिसभा २ का उम्मेदवार बिरोध खतिवडाले नाम र चिन्हको पछि नलागेर बिचार र कामको आधारमा मत दिन आग्रह गरेका छन् ।
भीमफेदी २ कालिकाटारमा आज आयोजित कार्यकता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने, ‘नाम र चिन्ह ठूलो कुरा हैन, काम र बिचार ठूलो कुरा हो । जनताको पक्षमा काम गर्ने र संविधान रक्षाको लागि लाग्ने शक्तिहरुलाई विजयी गराउनुहोला ।’ केपी ओलीको बा र अहंकार प्रबृद्धिका बिरुद्धमा संविधान रक्षाको पक्षमा उभिएकाहरु एक ठाउँमा उभिएको उनले बताए ।
केपी ओलीको अहंकारले प्रदेशको सरकारहरु र धेरे स्थानीय तह एमालेले गुमाएको भन्दै खतिवडाले मंसिर ४ पछि प्रतिनिधिसभाबाट पनि एमाले रित्तिने दाबी गरे । ‘प्रमुख मण्डले कमल थापा, राजाबादी राजेन्द्र लिङ्देनदेखि तराई टुक्र्याउने अभियनमा लागेका सिके राउतसँग अपबित्र चुनावी गठबन्धन गरेको एमालेलाई जनताको घरदैलोमा गएर मत माग्ने नैतिकता छैन’, उनले भने, ‘त्यसैले संविधानको र प्राप्त उपलब्धीहरुको रक्षा गर्दै देश विकासको लागि गठबन्धनलाई विजयी गराऔं ।’
भीमफेदीमा मात्र २ अर्ब ८८ करोड बजेट ल्याएका छौं : मोक्तान
गठबन्धन दल नेकपा माओवादी केन्द्रकी मकवानपुर प्रदेशसभा २(ख) का उम्मेदवार कुमारी मोक्तानले स्थिर सरकार, सुसाशन र समृद्धिको लागि गठबन्धन दलले जित्नुपर्ने बताएका छन् । फेरि एमालेको हातमा सत्ता पुगे प्राप्त सबै उपलब्धीहरु गुमेर देश पश्चगमनको बाटोमा फर्कने उनको भनाई छ ।
भीमफेदी २ स्थित कालिकाटारमा आयोजित कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्द मोक्तानले लामो आफ्नो पहलमा यस क्षेत्रमा करोडौं रुपैयाँको बजेटका कामहरु भएको बताइन् । ‘५० लाख भन्दा माथिको बजेट यस क्षेत्रमा आएको थिएन, मैले नै पहल गरेर सिन्की खाडल बर्दैउ लगायत दर्जनौं बस्तीहरुमा सडक पु¥याइएको छ’, उनले भनिन्, ‘यी सबै सडकको स्तरिकरण र थप बिस्तारकको काम पनि हामी गर्नेछौं ।’ त्यसको लागि गोलाकारभित्रको हसियाँ हथौडा चिन्हमा मतदान गरेर विजयी गराउन उनले यस क्षेत्रका मतदाताहरुलाई आग्रह गरिन् ।

बागमती प्रदेश सरकारबाट भीमफेदी गाउँपालिकामा मात्र दुई अर्ब ८८ करोड रुपैया बजेट बिभिन्न शीर्षकमा प्राप्त भएको मोक्तानले बताइन् । ‘यो पैसा गठबन्धन सरकारले ल्याएको हो । जहाँ काम भएको छैन, विकासको काम सम्बेधन गर्न बाँकी छ, त्यस्तो ठाउँमा पनि हामी सम्बोधन गर्दै जानेछौं’, उनले भनिन् ।
नेपाली कांग्रेस भीमफेदी २ नम्बर वडाकी सभापति मन्जु थापा मगरको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व मेयर लवशेर विष्ट, नेकपा एकिकृत समाजवादीका नेता विष्णु दाहाल, नेपाली कांग्रेसका नेताहरु खड्क गोपाली, यतिराज सापकोटा, नेकपा माओवादी केन्द्र भीमफेदीका नेता बद्रि बहादुर स्याङ्तान, अप्सरा लामा, नेपाली कांग्रेसका नेता नारायण थापा लगायतको आतिथ्यता रहेको थियो ।
आजै भीमफेदी गाउँपालिका १ स्थित किसेडी, नयाँगाउँ र भीमफेदी २ स्थित आँपचौरमा पनि स्थानीय मतदाता तथा कार्यकर्ताहरुसँग भेटघाट तथा अन्तरक्रिया गरिएको छ । कार्यक्रममा स्थानीयहरुले गाउँको समस्या र विकासको अपेक्षाबारे उम्मेदवारहरुसँग छलफल गरेका थिए ।

