Search
Close this search box.

‘भ्रमको खेतीले जनताको पेट भरिँदैन’

हेटौंडा– मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर २ प्रदेशसभा (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार इन्द्रबहादुर बानियाँले नेकपा एमालेले जनतालाई भ्रमित गर्ने काम मात्र गरिरहेको आरोप लगाएका छन् । विकास र समृद्धिका राम्रा नारा दिएर जनतालाई आश मात्रै देखाउने काम एमालेले गरेको उनको भनाइ छ ।

‘भ्रमको खेतीले जनताको पेट भरिँदैन । भ्रष्टाचारमा लिप्त, राजतन्त्र फर्काउन खोज्ने र देशलाई टुक्र्याउन खोज्नेहरुसँग केपी ओलीकोे साँठगाँठ रहेको छ । अब एमालेलाई जरैदेखि उखेल्नुपर्ने बेला आएको छ ।’ मनहरीमा शुक्रबार भएको कार्यक्रममा बानियाँले भने । उनले पूर्वाधार विकास र आम जनताको आधारभूत आवश्यकता पूरा गरिने बताएका छन् । नेता बानियाँले मुलुकमा पटक–पटक व्यवस्था परिवर्तन भएपनि जनताको अवस्था परिवर्तन हुन नसकेको उल्लेख गर्दै गठबन्धनको नेतृत्वले आम जनताको समस्या पहिचान गरी समाधान गर्ने बताए ।

उनले साँढे ३ वर्षसम्म बागमती प्रदेश सरकारको नेतृत्व गरेको एमालेले २ नम्वर क्षेत्रको पूर्वाधार विकासमा उपेक्षा गरेको भएपनि गठबन्धनको सरकार आउनासाथ १० महिनाको अवधिमा मकवाानपुर क्षेत्र नम्बर २ (ख) मा ३ अर्बभन्दा बढी बजेट विनियोजन गरिएको बताए ।

नेकपा माओवादी केन्द्र मनहरी–२ का इन्चार्ज चन्द्रसिं स्याङ्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा संघीय उम्मेदवार बिरोध खतिवडा, एकीकृत समाजवादीकी केन्द्रीय सदस्य मुनु सिग्देल, बागमती प्रदेश भौतिक पूर्वाधार राज्यमन्त्री सन्तबहादुर चेपाङ, कांग्रेस महाधिवेशन प्रतिनिधि शंकर न्यौपाने, मनहरी सभापति प्रकाश बर्तौला, नेतृ उमा दाहाल, माओवादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य वीरबहादुर घलान, मनहरी १ का प्रचारप्रसार सह–संयोजक बुदुमाया प्रजा, मनहरी १ का सभापति मनोहरी उप्रेती, माओवादी केन्द्रको पालिका इन्चार्ज राजकुमार पाख्रिनलगायतले मन्तव्य राखेका थिए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan