बकैया– बस्ती हटाउने हल्ला चलेपछि तत्कालिन धियाँल गाविसमा पर्ने हाल बकैया गाउँपालिका १ स्थित बरबोटका स्थानीय त्रसित थिए । बर्षौदेखि बसोबास गर्दै आएको थातथलो छाड्नुपर्ने पीडाले स्थानीय चिन्तित थिए ।
यसै विषयमा छलफल गर्न यस क्षेत्रबाट निर्वाचित सांसद कमल थापाले स्थानीयलाई हेटौंडा बोलाए । गाउँघरका भद्रभलाद्मी र युवाहरु सबैलाई छलफलको लागि भन्दै हेटौंडा बोलाईयो । २०४४ सालको त्यो घटनाले दिएको पीडा अझै पनि बकैया गाउँपालिका १ स्थानीयले भुलेका छैनन् । २०४४ सालमा पञ्चायत सरकारका बन मन्त्री हेम बहादुर मल्ल र त्यस समयमा मकवानपुरको यसै क्षेत्रबाट निर्वाचित राप्रपा नेपालका अध्यक्ष थापाले बन क्षेत्रमा बस्ती बसेको भन्दै करिब सातसय घरमा आगजनी गरेका थिए ।
त्यसबेला आगजनीसँगै हात्ति लगाएर घरहरु भत्काइएको थियो । हाल बकैया १ नम्बर वडाको धियाँल डाँडा, महादेव डाँडा, रजुवाई, इपिलघारी, हिलेखोला लगायत बस्ती आगजनी गरेर हटाएको तत्कालिन धियाँल पञ्चालय प्रमुख शेर बहादुर भ्लोनले बताए । भागदौडको समयमा कोक्रोमा रहेको बच्चा सहित महिला र बालबालिकाहरुले ज्यान गुमाएका थिए । बस्तीको बारेमा छलफल गर्न भन्दै यस क्षेत्रका सांसद थापाले गाउँका जान्नेसुन्ने र युवाहरुलाई हेटौंडा बोलाएर गाउँमा महिला, बालवालिका मात्र भएको मौका छोपेर आगो लगाएको स्थानीय ८१ वर्षीय कान्छीमाया हिमडुङले बताइन् । ‘हाम्रो गाउँ खरानी भएको, बालबच्चा मरेको अझै बिर्सेको छैन हामीले’, उनले भनिन् । बिस्तापित यो गाउँमा नेकपा माओवादी केन्द्रको पहलमा जनयुद्धको समयमा पुनः बस्ती बसालिएको थियो ।
बि.सं. १९९३ सालको नम्बरी जग्गा समेत बस्ती उठाएर एलानी बनाएपछि यहाँका करिब सातसय परिवार सुकुम्बासी बनेका थिए । बारा र रौतहटको सीमानामा पर्ने यो गाउँमा हाल करिब पच्चिसय परिवार बसोबास गर्दैै आएका छन् । यसै क्षेत्रबाट फेरि कमल थापा यो पटक नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन् ।
यसै गाउँमा पुगेर बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले बस्ती संरक्षणको बाचा गरेका छन् । बकैया १ धियाँलस्थित बरबोट चिसापानीमा आयोजित सभालाई सम्बोधन गर्दै मकवानपुर प्रतिनिधिसभा १ का उम्मेदवार नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना)ले आफुहरु बस्तीको संरक्षण र विकासको लागि आएको बताइन् । ‘हामी यो बस्तीलाई बचाउन आएका छौं, यहाँको लालपूर्जा र सीमाको समस्या हामी समाधान गर्छौ’, उनले भनिन्, ‘हामीलाई जितआउन्होस्, यस ठाउँको विकास गर्ने जिम्मा हाम्रो भयो ।’
सभालाई सम्बोधन गर्दै मकवानपुर १ (क) प्रदेशसभाका उम्मेदवार नेकपा माओवादी केन्द्र बागमती प्रदेश समितिका उपाध्यक्ष प्रेमबहादुर पुलामीले हातमा पैसाको मुठा लिएर आउनेहरुसँग सचेत भएर जनताको पक्षमा काम गर्नेहरुलाई विजयी गराउन अनुरोध गरे । यस क्षेत्रको विकासमा आफुले लामो समयदेखि काम गर्दै आएको बताउँदै उनले जग्गाधनी पूर्जा वितरणको काम अघि बढेको बताए । साथै उनले छिमेकी जिल्लासँगको सीमा बिवादबारे पनि केन्द्र सरकारसँग पहल गरेर छिट्टै समाधान गरिने प्रतिबद्धता ब्यक्त गरे । सभामा नेकपा एमाले परित्याग गरी २० जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

