हेटौंडा– मकवानपुर क्षेत्र नम्बर–१ का एमालेका तर्फबाट उम्मेदवार तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले देश बनाउन र बचाउन केपी ओलीको नेतृत्वमा सरकार निर्माण हुनुपर्ने बताएका छन् । नेकपा एमाले हेटौंडा–४ वडा कमिटीले आयोजना गरेका अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मंसिर ४ गतेको चुनाव पछि ओलीको नेतृत्वमा सरकार निर्माण हुने पनि दावी गरे । गठबन्धनका कारण अहिले मुलुक संकटमा परेको उनको भनाइ थियो ।
यस्तै नेकपा एमालेका तर्फबाट मकवानपुर क्षेत्र नम्बर–१ को प्रदेशसभा (ख) का उम्मेदवार एकालाल श्रेष्ठले गठबन्धन सरकारका कारण मुलुकमा आर्थिक संकटमा परेको दावी गरे । गठबन्धनले मुलुकलाई तहसनहस बनाएको उनको आरोप थियो । नेपालीले स्वाभिमान पूर्वक बाच्न पाउने अधिकार सुनिश्चित हुनुपर्ने उनको भनाइ थियो ।
अब हेटौंडाको सडकलाई फराकिलो बनाउन सबै लाग्नुपर्नेमा उनले जोड दिए । हेटौंडाको बाइपास सडक निर्माण पनि गर्दै मुल सडक पनि फराकिलो बनाउनु पर्ने उनको भनाइ थियो । कार्यक्रममा एमालेका केन्द्रीय सदस्यहरु रामेश्वर राना, भारती पाठक लगायतका नेताहरुको आतिथ्यता रहेको थियो ।

