Search
Close this search box.

गरिब, निमुखा जनताको अपेक्षा पूरा गर्ने बानियाँको प्रतिवद्धता

हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर–२ प्रदेशसभा (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार ईन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा गठबन्धनको सरकार बनेपछि गरिब तथा असहाय जनताको हितका लागि प्राथमिकताका साथ काम गर्ने बताएका छन् ।
गठबन्धनको राक्सिराङ १,२ र ३ को संयुक्त भेलालाई सोमबार सम्बोधन गर्दै नेपाली कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँले प्रदेशमा एमालेको सरकार हुँदा गरिब, निमुखा जनतालाई उपेक्षा गर्दा आफुले व्यक्तिगत लगानीमै भएपनि सहयोग उपलब्ध गराउँदै आएको बताए ।
‘साँढे ३ वर्ष एमालेले सरकारको नेतृत्व गर्दा यो क्षेत्रका गरिब, निमुखा जनताको लागि के गर्यो ? मैले सदनाम पनि यो कुरा उठाए, सरकारले केही नगरेपछि मैले नीजि खर्चमा भएपनि गरिब दुःखीको सेवा गरेको छु । अब गठबन्धनको सरकार आएपछि हामी योजना बनाएरै काम गर्छौँ ।’ उनले भने ।
उनले व्यवस्थाको रक्षा गर्दै अब जनताको अवस्था बदल्ने बताए । उनले गठबन्धनकै बलमा प्रतिगमनकारीहरुलाई बार्दलीसम्म पुर्याइएको बताउँदै यो निर्वाचनबाट परास्त गरिने बताए ।
माओवादी केन्द्र राक्सिराङका अध्यक्ष ओमकार घलानको सभाध्यक्षतामा भएको कार्यक्रममा संघीय उम्मेदवार विरोध खतिवडा, संविधानसभा सदस्य गोविन्दराम चेपाङ, कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, पालिका सभापति विरेन्द्र जिम्बा, चेपाङ संघ बागमती प्रदेश अध्यक्ष खुशीलाल चेपाङ्ग, कांग्रेस नेता पदमबहादुर तितुङ, राजकुमार मल्ल, सन्तबहादुर चेपाङ , नेतृ पूर्णिमा दोङ्ग, रजनी थापा, उमा दाहाल, एकीकृत समाजवादीका नेता राजाराम स्याङ्तान, कृष्णबहादुर चेपाङ, माओवादी केन्द्रका नेता ओम घलान , बनस्तम थिङलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कलाकार सरोज लामिछाने, उर्गेन दोङ, शिवा भण्डारी, करिष्मा ढकाललगायत विभिन्न कांग्रेसका गीतहरु गाएर नेता तथा कार्यकर्ताहरुलाई नचाएका थिए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan