Search
Close this search box.

कांग्रेसकै नेतृत्वमा सरकार बन्छः प्रवक्ता महत

हेटौंडा– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी निर्वाचन पछि नेपाली कांग्रेस नेतृत्वकै सरकार बन्ने दावी गरेका छन् । प्रेस युनियन मकवानपुरले मंगलबार हेटौंडामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महतले लोकतान्त्रिक बाम गठबन्धनको उम्मेदवारी सिट बाँडफाँडमा एक सय ६५ निर्वाचन क्षेत्र मध्ये कांग्रेस एक्लैको भागमा ९१ सिटमा उम्मेदवारी दिएको भन्दै अबको सरकारको नेतृत्व कांग्रेसले गर्नेमा कुनै आशंका नरहेको बताए ।

‘निर्वाचनपछि सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा गठबन्धनको औपचारिक निर्णय नभएता पनि अगुवा दल कांग्रेस नै भएका कारण कांग्रेसकै नेतृत्वमा सरकार बन्नेमा दुइमत छैन ।’ उनले संविधानको रक्षा, व्यवस्थाको रक्षासहित र जनताको अवस्था परिवर्तन, मुलुकमा स्थिरता र समृद्धि ल्याउन लोकतान्त्रिक बाम गठबन्धन निर्माण भएको र यो गठबन्धन आगामी सरकार निर्माणदेखि निरन्तर चलिहरहने बताए ।

गठबन्धनको बहुमतको सरकार बनेपछि विकास र समृद्धिको नयाँ अभियान सुरु हुने उनले उद्घोष गरे । गठबन्धनको आवश्यकता र औचित्यको बारेमा पनि महतले प्रष्ट पारे । ‘कांग्रेसले थोरै बोल्छ, धेरै काम गर्छ । ओली जी धेरै बोल्नुहुन्छ, काम भने हुँदैन । अब गठबन्धनको सरकारले जनताको पक्षमा, अग्रगमनको पक्षमा काम गर्छ ।’ उनले भने ।

उनले मकवानपुरमा लोकतान्त्रिक गठबन्धनका सबै उम्मेदवार सक्षम र सशक्त रहेको बताउँदै आसन्न निर्वाचनमा उनीहरुलाई मतदात गरी विजयी गराइदिन हुन आग्रह गरे । गठबन्धनले मकवानपुरको संघ र प्रदेशको सबै क्षेत्रमा विजयी हासिल गर्ने उनले दावी गरे । युनियन मकवानपुरका अध्यक्ष पोष्टराज अधिकारी (कुमार)को अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसकी सहमहामन्त्री एवम् मकवानपुर क्षेत्र नं १ का उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डीना’, बागमती प्रदेश महामन्त्री राजु श्रेष्ठ, नेपाली कांग्रेस मकवानपुर सभापति बुद्ध लामालगायत नेताहरुको सहभागिता रहेको थियो ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan