Search
Close this search box.

तपाईको सहयोगले जिउने हौसला र साहस बढेको छ: थ्यांक यु ईन्द्र बानियाँ

मेरो नाम ईन्द्रबहादुर बस्नेत हो । मेरो घर हेटौंडा उपमहानगरपालिका वडा नम्बर–३ मा पर्छ । म अहिले अटो चलाएर दैनिक जीवनयापन गरिरहेको छु । मसहित परिवारमा ४ जना सदस्य छौँ । परिवारका सबै सदस्यको पालनपोषण मैले नै गरिरहेको छु ।
२०७४ सालमा मैले चलाएको ट्रक दुर्घटना हुँदा म घाइते भएँ । बिएण्डबी हस्पिटलमा करिब ६–७ महिना उपचारका क्रममा बस्नुपर्यो । उपचारको क्रममा दाहिने गोडा काट्नुपर्ने भयो । खुट्टा गुमाएपछि मेरो घर व्यवहार चलाउन निकै गाह्रो भयो ।
शरिरको अंग नै गुमाउनु पर्दा पीडा त छँदै थियो । शारीरिक र मानसिक दुवै रुपले कमजोर भएको अनुभूति भयो । त्यसपछि कुनै पेशा व्यवसाय नगरी घरमा बस्दै आइरहेको थिएँ । के गर्ने कसो गर्ने भनेर निकै छट्टपट्टी पनि भयो ।
जीवनमा केही गरौँला भन्ने आश नै गुमाएर बसेको थिए । नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले मेरो जीवनमा ठूलो गुन लगाउन आउनुभयो । उहाँले मलाई कृत्रिम खुट्टा सहयोग गरी हिँड्न सक्ने बनाउनुभयो । त्यसपछि मलाई थप हौसला र साहस बढेर गयो ।
जिन्दगीदेखि नै हारिसकेको थिएँ । मेरो लागि ईन्द्र दाई भगवान बनेर आउनुभयो । उहाँको सहयोगले मेरो पीडामा मल्हमको काम गर्यो । विस्तारै केही गर्ने प्रेरणा जाग्दै गयो ।
कृत्रिम खुट्टा लगाइसकेपछि अब मैले पनि आफैंले केही गर्नुपर्छ भन्ने सोच बनाएर अटो चलाउँदै आएको छ । सुरुमा केही कठिन भए पनि अहिले सोही पेशाबाट मैले म र मेरो परिवारको गुजारा चलेको छ । आफू व्यस्त पनि भएको छु, घरपरिवार चलाउन पनि सजिलो भएको छ ।

म झन्डै ५- ६ महिना विभिन्न संघसंस्था तथा राजनीतिक दलका नेताहरुसँग सहयोगको याचना गर्दै पुगेँ । धेरैले आश्वासन दिए । हेटौंडा उपमहानगरपालिका र नारायणी संघले कृत्रिम खुट्टा दिएको भए पनि धेरै समय टिकेन ।
ईन्द्र दाईले एक पटक कृत्रिम खुट्टा किन्न ५० हजार रुपैयाँ दिनुभयो । त्यो पुरानो भएर काम नलाग्ने भएपछि केही समयअघि फेरि ७५ हजार बराबरको नयाँ कृत्रिम खुट्टा घरमै आएर सहयोग गर्नुभयो ।
अरुले दाईलाई जेसुकै भने पनि मकवानपुरमा उहा“ जस्तो सहयोगी भावनाको कोही छैनन् जस्तो लाग्छ । उहाँको यो गुन म जीवनभर तिर्न सक्दिन उहाँको सँधै ऋणी रहनेछु । दाईलाई हृदयदेखि नै धन्यवाद भन्न चाहान्छु, थ्याङ्क यू ईन्द्र दाई ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan