हेटौँडा– मकवानपुरको भीमफेदी गाउँपालिकामा बसको ठक्करबाट एक वृद्धाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा भीमफेदी गाउँपालिका–८, इपा बस्ने ६३ वर्षीया लिलादेवी खत्री रहेकी छन् ।
बिहान करिब साढे ७ बजेतिर इपादेउराली–कोगटे–भीमफेदी हुँदै हेटौंडातर्फ आउँदै गरेको बा २ ख ९४३० नम्बरको बसले खत्रीलाई ठक्कर दिएको थियो ।
प्रहरीका अनुसार खत्री सोही बसमा सवार थिइन् । बसबाट ओर्लिएर गाडीको अगाडिबाट बाटो काट्ने क्रममा उनलाई सोही बसले ठक्कर दिएको हो । बसको ठक्करबाट टाउकोमा गम्भीर चोट लागेकी उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदी र इप्रका ठिङ्गनबाट ट्राफिकसहित २० जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।
दुर्घटना गराउने बस घटनास्थलमै रहेको छ भने बसका चालक भीमफेदी गाउँपालिका–७, कोगटेका ४३ वर्षीय राजु आचार्य प्रहरीको टेलिफोन सम्पर्कमा रहेको मकवानपुर प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

