हेटौँडा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा ट्रकको ठक्करबाट एक पैदलयात्री गम्भीर घाइते भएका छन् ।
बिहीबार साँझ ५ः३५ बजे चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना.४ ख ५९७७ नम्बरको ट्रकले पैदलयात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
ट्रकको ठक्करबाट चितवनको रत्ननगर नगरपालिका–३ निवासी ७० वर्षीय रामनाथ बिक घाइते भएका हुन् । उनलाई मनहरी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि चितवन रिफर गरिएको प्रहरीले जनाएको छ । घाइते बिकको स्वास्थ्य अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनापछि प्रहरीले ट्रकसहित चालक रौतहटको चन्द्रपुर नगरपालिका–६ निवासी ३७ वर्षीय गणेशबहादुर खपाङ्गीलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
केही प्रतिक्रिया छ कि ?

