हेटौंडा–लामो समयदेखि कानुन तथा न्यायको क्षेत्रमा क्रियाशील ठाकुर राम भण्डारी र योग बहादुर पालले कानुन सम्बन्धी पुस्तक तयार गरेका छन् । लोक सेवा आयोगले लिने शाखा अधिकृत न्याय सेवा तृतीय पत्रको ‘समसामयिक कानुन र अभ्यास’ पुस्तक भण्डारी र पालले सहलेखन गरेका हुन् ।
उक्त पुस्तक आगामी सोमबारदेखि बजारमा ल्याइने बताइएको छ । लोक सेवाको प्रशिक्षण गराउँदै आएका नेपाल सरकारका अधिकृत सरकारी वकिल ठाकुर राम भण्डारी र एलएलएममा पुर्वाञ्चल विश्वविद्यालयमा प्रथम भएका योगबहादुर पालद्धारा लिखित उक्त पुस्तक लोक सेवाका परिक्षार्थीहरुलाई उपयोगी हुने अपेक्षा गरिएको छ । मौलिक शैलीमा अध्यापन गर्ने भण्डारीको पुस्तकको विद्यार्थीहरुले माग गरिरहेका थिए । अहिलेसम्म सोधिएका सबै पुराना प्रश्नहरुका साथै थप १३ सेट नमुना प्रश्नहरु समेत उक्त पुस्तकमा समावेश गरिएको छ ।
पढाईका सुत्रसमेत समावेश भएको पुस्तक ऐश्वर्य पब्लिकेशनले बजारमा ल्याउन लागेको हो । पाठ्यक्रममा आधारित रहेर सैद्धान्तिक र व्यवहारिक पक्षलाई समावेश गरी पुस्तक तयार गरिएको भण्डारीले बताए । पुस्तक तयार गर्न विभिन्न पुस्तक, ऐन, नियम, कानुन, अन्तर्राष्ट्रिय सन्धी सम्झौताहरु, अदालतबाट प्रतिपादित सिद्धान्तहरु, नजिरहरुलगायत सामाग्रीहरुको प्रयोग गरिएको उनले सुनाए ।
हेटौंडा स्थायी निवासी भण्डारी हाल जिल्ला सरकारी वकिलको कार्यालय भक्तपुरमा सहायक जिल्ला न्यायधिवक्ताकाे रुपमा कार्यरत छन् भने पाल विधि विज्ञान विज्ञका रुपमा स्थापित छन् ।

