Search
Close this search box.

सुकुम्बासी पहिचान गर्न समिति

सहरी विकास मन्त्रालयले काठमाडौँलगायत मुलुकभरि देखिएका सुकुम्बासी समस्याको दीर्घकालीन समाधानका लागि वास्तविक सुकुम्बासीको पहिचान तथा अन्य निकायसँग समन्वय गर्न समिति गठन गरी अध्ययन सुरु गरेको छ।

सहरी विकासमन्त्री मेटमणि चौधरीको अध्यक्षतामा बसेको बैठकले सो समिति गठन गर्ने निर्णय गरेको हो। सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक प्रकीर्ण तुलाधरको संयोजकत्वमा समिति गठन गरिएको मन्त्रालयका सहसचिव तथ प्रवक्ता प्रदीप परियारले जानकारी दिए। समितिका सदस्यमा काठमाडौँ उपत्यका विकास प्राधिकरणका सीडीई तथा बाहिरी चक्रपथ विकास आयोजनाका प्रमुख जगदीश लामिछाने, काठमाडौँ महानगरपालिकाका प्रतिनिधि, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका इन्जिनियर कमल अर्याल र सहरी विकास मन्त्रालयका उपसचिव जीवनराज सेढाईं रहेका छन।

बैठकले आफ्नो क्षेत्राधिकारभित्रको कार्यलाई सरोकारवाला सबै निकायले प्राथमिकतासाथ तत्काल कारबाही अगाडि बढाउने, सुकुम्बासी राख्न बनाइएका संरचनालाई मर्मतसम्भार गर्नुपर्ने भए तत्काल मर्मत गरी बस्न योग्य बनाउने, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले आफ्ना कार्य अगाडि बढाउन सम्बन्धित पक्षसँग समन्वय गर्नेलगायतका निर्णय गरेको हो। गठित समितिले विशेषगरी वास्तविक सुकुम्बासी तथा सहरी गरिबको पहिचान र तिनीहरूको बसोबासका लागि काठमाडौँको नागार्जुन नगरपालिकामा निर्माण गरिएको भवनमा उनीहरूको प्रतिस्थापन तथा व्यवस्थापनका लागि राज्यका सम्बन्धित निकायहरूसँग समन्वयकारी भूमिका निर्वाह गर्ने प्रवक्ता परियारको भनाइ छ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती नदी, सहायक नदी तथा उपसहायक नदीहरूको कोरिडोर खाली गर्ने सन्दर्भमा सुकुम्बासी व्यवस्थापनको समस्या सडकसम्म पुगेपछि मन्त्री चौधरीले सुकुम्बासीका मुद्दा सदाका लागि समाधान गर्नेगरी आफू सक्रिय भएको बताए।गोरखापत्र

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan