Search
Close this search box.

अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

अर्जेन्टिना कतारमा जारी २२ औं फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ। दोहास्थित लुसेल आइकोनिक स्टेडियममा मंगलबार राति भएको पहिलो सेमिफाइनल खेलमा साविक उपविजेता क्रोएसियालाई ३-० गोलले हराउँदै अर्जेन्टिना फाइनलमा पुगेको हो। 

अर्जेन्टिना फाइनलमा पुगेको यो छैटौं पटक हो। सेमिफाइनलमा कहिल्यै नहारेको अर्जेन्टिनाले सन् १९७८ र १९८६ को विश्वकप उपाधि जितेको थियो। अर्जेन्टिना सन् १९३०, १९९० र २०१४ मा पनि फाइनलमा पुगेको थियो। 

अर्जेन्टिनाको जितमा जुलियन अल्भारेजले दुई तथा कप्तान लियोनल मेस्सीले एक गोल गरे। अर्जेन्टिनाले ३४औं मिनेटमा पेनाल्टी गोलमार्फत सुरुवाती अग्रता लिएको थियो।

डिबक्सभित्र क्रोएसियाका गोलरक्षका डोमिनिक लिभाकोभिचले अल्भारेजलाई लडाएपछि अर्जेन्टिनाले पेनाल्टीको मौका पाएको थियो। जसलाई मेस्सीले सदुपयोग गरे।

विश्वकपमा मेस्सीको यो अर्जेन्टिनाका लागि कीर्तिमानी ११औं गोल हो। मेस्सीले यसअघि गाब्रियल बाटिस्टुटाको नाममा रहेको १० गोलको कीर्तिमान तोड्नुभएको हो।

जारी विश्वकपमा पाँच गोल गरेका मेस्सी गोल्डेन बुटको समेत दौडमा छन्। मेस्सीसँगै गोल्डेन बुटको दौडमा रहेका भएका फ्रान्सका युवा स्टार केलियन एमबाप्पे पाँच र ओलिभर गिरोडले चार गोल गरेका छन्।​

पहिलो हाफमा दुई गोल गरेको अर्जेन्टिनाका लागि अल्भारेजले ३९औं मिनेटमा गोल गर्दै टोलीको अगता दोब्बर बनाए। उनले काउन्टर प्रहारमा क्रोएसियाका रक्षकलाई छल्दै जाली चुमाएका थिए। 

त्यसपछि ६९औं मिनेटमा अल्भारेजले व्यक्तिगत दोस्रो गोल गर्दै अर्जेन्टिनालाई सजिलै फाइनलमा पुर्‍याए। 

पहिलो हाफमा आक्रामक देखिएको क्रोएसिया अर्जेन्टिनाको पेनाल्टी गोलपछि दबाबमा रह्यो। ६१ प्रतिशत बल पोसेसन राखेको क्रोएसियाले अन्ततस् गोलरहित हार खेप्यो। साविक उपविजेता क्रोएसियाको दोस्रो पटक फाइनल पुग्ने लक्ष्य सफल भएन।

अब फाइनलमा अर्जेन्टिनाले साविक विजेता फ्रान्स र अफ्रिकी देश मोरोक्कोबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। फ्रान्स र मोरक्कोबीचको दोस्रो सेमिफाइनल खेल बुधबार राति हुनेछ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan