Search
Close this search box.

सिजनमा पनि छैनन् पर्यटक

आन्तरिक पर्यटकहरू मात्र नभई भारतीय पर्यटकको समेत विशेष रोजाइको गन्तव्य मानिएको इलाम बजार सुनसान देखिएको छ। देशका विभिन्न क्षेत्रबाट विद्यार्थी, शिक्षक, सहकारीकर्मी र किसान समूहको भ्रमण टोली सिजनमा धेरै आउने गरे पनि यो वर्ष इलामको पर्यटकको चहलपहल न्युन छ।   

इलाममा मङ्सिर र पुसमा आन्तरिक र बाह्य पर्यटकको चहपहल अत्याधिक हुने गर्दथ्यो। यही अवधिमा देशका विभिन्न क्षेत्रका शैक्षिक स्ंस्थाबाट विद्यार्थी, शिक्षक, सहकारीकर्मी र किसान समूहलगायतका भ्रमण टोली आउने गरेका थिए। यो वर्ष भने पर्यटकको चहलपहलमा व्यापक कमी देखिएको छ। इलामका पर्यटन व्यवसायी जनक पौडेलले मङ्सिर महिनामा पर्यटक शून्यजस्तै भएको र पुस महिनाको दोस्रो हप्तासम्म पनि चहलपहल नभएको बताउँछन् ।

कोरोना माहामारीको सङ्क्रमण हुनभन्दा पहिला आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल निकै हुने गरेको भए पनि अहिलेसम्म स्थिति सुधार नभएको व्यवसायीको भनाइ छ। तत्कालीन माहामारीका कारण प्रभावित भएको इलामको पर्यटन व्यवसाय अहिलेको सिजनसम्म पनि प्रभावित नै रहेको बताइएको छ।

सिजनमा आन्तरिक र बाह्य पर्यटकको अधिक भीड रहने इलामको माइपोखरी, कन्याम, अन्तुलगायतका पर्यटकीय स्थलमा चहलपहल नहुँदा त्यहाँका पर्यटन व्यवसायी अझै मारमा छन्। प्राकृतिक सुन्दरता, जैविक विविधता, चिसो हावापानी र हरियालीयुक्त  चियाबारीका कारण पर्यटकको रोजाइमा पर्ने गरेको इलामको पर्यटकीय गतिविधिमा छिट्टै सुधार आउने आशा त्यहाँका व्यवसायीले गरेका छन्। साभार; गोर्खापत्र

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan