Search
Close this search box.

कोरोनाको नयाँ भेरियन्ट रोकथामको तयारी

छिमेकी मुलुक भारत र चीनसहित विभिन्न मुलुकमा कोरोनाको नयाँ भेरियन्ट वीएफ–७ को सङ्क्रमण फैलिएपछि विराटनगर महानगरपालिकाले सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि तयारी सुरु गरेको छ। 

खुला सीमाको प्रभावले सङ्क्रमण फैलिन सक्ने सम्भावनालाई ख्याल गर्दै सोमबार तीनै तहका सरकारका प्रतिनिधिहरूको उपस्थितिमा महानगरले अन्तक्रिर्या गरेको हो।

अन्तक्र्रियामा महानगरका मेयर नागेश कोइरालाले भारतसँग सीमा जोडिएका कारण विराटनगरमा कोरोनाको नयाँ भेरियन्टको उच्च जोखिममा रहेकाले सतर्कता अपनाउनुपर्ने बताए। मेयर कोइरालाले भन्नुभयो, “भारतमा समेत वीएफ–७ को सङ्क्रमित फेला परिसकेका छन्, चीनमा त ठूलो जनसङ्ख्यालाई नयाँ भेरियन्टको सङ्क्रमण भएको छ, विराटनगरले आवश्यक सावधानी अपनाउन जरुरी छ।’’अहिलेदेखि नै सतर्कता र तयारी गर्न आवश्यक स्वास्थ्य मापदण्ड पालनामा उनले जोड दिए।

मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी शरद पोखरेलले कोरोनाको नयाँ भेरियन्टको जोखिम न्यूनीकरण र रोकथामका लागि तीनै तहको सरकारको सहकार्य र समन्वयमा जोड दिए। 

महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले विगतको भन्दा यस पटकको कोरोनाको सङ्क्रमण दर उच्च रहेकोले त्यो जोखिमबाट सुरक्षित हुन आवश्यक रहेको बताए। नयाँ भेरियन्टले एक जना सङ्क्रमितबाट १८ जनासम्मलाई सङ्क्रमण सर्ने दाबी छ।

छलफलमा स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले विगतमा कोरोना महामारीमा महानगरले गरेको कार्य र वीएफ–७ को जोखिमका विषयमा कार्यपत्र प्रस्तुत गरेजा थिए। कोभिड रोकथाम र नियन्त्रणका लागि महानगरले स्वास्थ्य अधिकृत रमेश कार्कीलाई फोकल पर्सन तोकेको छ। छलफलमा वडाध्यक्षसहित विभिन्न क्षेत्रका व्यक्तिहरूले कोभिडको नयाँ भेरियन्टबाट बच्न सीमा नाकामा कडाइ गर्नुपर्ने र सुरक्षा जाँचलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुस ९ गते परिपत्र पठाएर तयारीमा लाग्न मातहतका निकायलाई निर्देशन दिएको थियो। त्यस्तै गृह मन्त्रालयले पनि विज्ञप्ति जारी गर्दै नयाँ भेरियन्टको जोखिम न्यूनीकरण र रोकथाममा लाग्न आग्रह गरेको थियो। महाशाखा प्रमुख अलीका अनुसार विराटनगर–१६ को रानी हेल्थ डेस्क, १५ को प्राथमिक स्वास्थ्य केन्द्र रानी, वडा नम्बर १९ स्थित वैजनाथपुर स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य केन्द्र विराटनगर–५ मा कोभिडको निःशुल्क परीक्षण भइरहेको छ। विगतको भेरियन्टबाट विराटनगरमा दैनिक ३५० जनासम्म सङ्क्रमित भएका थिए। १९ हजार ८८४ जना सङ्क्रमित हुँदा विराटनगरमा मात्रै २६४ जनाको मृत्यु भएको थियो।    गोरखापत्रबाट

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan