Search
Close this search box.

चिसोले हिमाली जनजीवन प्रभावित


चिसो बढ्दै गएपछि ताप्लेजुङको हिमाली क्षेत्रका बस्तीहरूको जनजीवन प्रभावित बन्दै गएको छ। पछिल्लो हप्ता मौसम एक्कासि चिसिएसँगै बढेको चिसोका कारण जनजीवन प्रभावित बन्दै गएको हो

घाम नलाग्ने, बाक्लो हुस्सु र चिसो हावासँगै बाक्लो तुसारो पर्न थालेपछि हिमाली क्षेत्रका बस्तीहरूको जनजीवन कष्टकर बन्दै गएको हो। असामान्य रूपमा चिसो बढ्दै गएपछि हिमाली बस्तीका सर्वसाधारणलाई अहिले दैनिकी चलाउनलाई निक्कै मुस्किल पर्न थालेको स्थानीयले बताएका छन्। 

समुद्र सतहदेखि तीन हजारभन्दा माथिका हिमाली बस्तीहरूमा चिसोले बढी सताएको छ। जिल्लाको फक्ताङ्लुङ गाउँपालिका–६, लेलेपको ग्याब्ला, फले, घुन्सा, वडा–७, ओलाङ्चुङगोला, ओलाङ्चुङगोलाकै याङ्मालगायतका हिमाली बस्तीको जनजीवन चिसोले कष्टकर बनाउँदै लगेको छ। याङ्मा चार हजार २०० मिटर उचाइमा रहेको जिल्लाकै उच्च हिमाली बस्ती पनि हो।   

उक्त हिमाली बस्तीका कतिपय परिवार यसअघि नै चिसो छल्न बस्ती छोडेर न्यानो ठाउँ तथा सहरतिर गएका छन्। यतिबेला गाउँमै बस्दै आएका परिवार भने चिसोका कारण कष्टकर जीवन बिताइरहेका छन्। घुन्साका स्थानीय पेमा शेर्पाका अनुसार पछिल्लो केही सातायता निक्कै चिसो बढेको छ। चिसोका कारण अधिकांश समय न्यानो लुगा लगाएर साथै आगो तापेर घरभित्रै बस्नुपर्ने अवस्था रहेको शेर्पाको भनाइ छ। 

यस्तै फलेकी फुटी शेर्पाले पनि केही दिनयता निक्कै चिसो बढेको र बढ्दो चिसोले दैनिकी चलाउन समस्या भइरहेको बताउनुभयो। बाक्लो हुस्सु लाग्ने र तुषारो पर्ने गरेकाले चिसो ह्वात्तै बढेको शेर्पाले बताउनुभयो। हिउँ पर्न नसक्नु र बाक्लो हुस्सु लाग्नु तथा तुषारो मात्र पर्नाले चिसो निक्कै बढेको उहाँको भनाइ छ। उनले हिउँ नपरेसम्म चिसो कायम रहने बताए।

ओलाङ्चुङगोलाका स्थानीय तेन्जिङ वालुङले पनि हिउँ नपरेका कारण बढी चिसो भएको बताएका छन। घाम नलाग्ने, बाक्लो हुस्सु र तुषारो मात्र पर्ने हुँदा अधिक चिसो भएको वालुङले बताउनुभयो। उहाँले हिउँ परेपछि मात्र मौसम खुलेर वातावरण सन्तुलित हुने र तुलनात्मक रूपमा चिसो कम हुने बताए। चिसोले मानिसको दिनचर्यासँगै पशुचौपायालाई निक्कै समस्या पारिरहेको उनले बताए ।

चिसोकै कारण मिक्वाखोला गाउँपालिका–५, पापुङको तोक्पेगोला बस्ती रित्तो भएको छ। गत मङ्सिर अन्त्यदेखि नै तोक्पेगोलाका बासिन्दा चिसो छल्न सहर बजारतिर झरेपछि अहिले बस्ती खाली भएको पापुङका वडाध्यक्ष ग्यान्जे लामा शेर्पाले जानकारी दिए। वडाध्यक्ष शेर्पाका अनुसार चिसोको अवधि अर्थात् हिउँद मौसमभर तोक्पेगोला बस्ती खाली हुने गरेको छ।

यसरी बढ्दो चिसोले सिङ्गो जिल्लाकै जनजीवन प्रभावित बन्दै गइरहेको छ। तुलनात्मक रूपमा हिमाली क्षेत्रका बस्तीहरूको जनजीवन बढी प्रभावित र कष्टकर बन्दै गएको छ। चिसो बढेपछि हिमाली बस्तीका बासिन्दा यतिबेला अधिकांश समय घरभित्रै बस्दै आएका छन्। पशुचौपायालाई न्यानो गोठ तथा ग्वालीहरूमा राखेको स्थानीयले बताएका छन्। 

सदरमुकाम फुङ्लिङ बजारमा पनि निक्कै चिसो बढेको छ। केही दिनयता बढेको चिसोका कारण बजार तथा सार्वजनिक स्थलमा चहलपहल पनि ह्वात्तै घटेको छ। मानिसको चहलपहल घटेपछि फुङ्लिङ बजारमा व्यापार व्यवसाय सुस्ताउँदै गएको स्थानीय व्यवसायीले बताएका छन्। 

केही दिनदेखि मौसम निरन्तर धुम्मिएको र चिसो बढ्दै गएको जल तथा मौसम विज्ञान कार्यालय धरान, ताप्लेजुङ फिल्ड कार्यालयले जनाएको छ। सोमबार ताप्लेजुङको न्युनतम तापक्रम ४.० डिग्री सेल्सियस मापन गरिएको जिल्लास्थित फिल्ड कार्यालयका इन्चार्ज डेभिड ढकालले जानकारी दिए। चिसोका कारण सर्वसाधारणमा रुघाखोकी, निमोनिया, कोल्ड डायरिया तथा श्वासप्रश्वाससम्बन्धी समस्या देखा पर्न थालेको समेत स्थानीय बताउँछन्।  गोर्खापत्र

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan