Search
Close this search box.

सुनको मूूल्य बढेको बढ्यै

 पछिल्लो समय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । स्थानीय बजारमा मङ्गलबार सुनको मूल्य बढेर यस वर्षकै उच्च प्रतितोला एक लाख दुई हजार छ सय रुपियाँमा कारोबार भएको हो ।

सोमबार प्रतितोला एक लाख एक हजार सात सय रुपियाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेका कारण त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सोमबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँश एक हजार ८२५ डलरमा कारोबार भएको सुनको मूल्य मङ्गलबार बढेर एक हजार ९४२ डलर कायम भएको छ । महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्यले अन्तर्राष्ट्रिय बजारमा अन्य मुद्राको तुलनामा डलर कमजोर हुँदा लगानीकर्ता सुनमा आकर्षित भएकाले मूल्य बढ्दै गएको जानकारी दिए।

अमेरिकाको फिडरल रिजभ बैङ्कले ब्याजदर बढाएका कारण सुनमा लगानीकर्ता आकर्षित भएको उहाँको भनाइ छ । “विश्व बजार अस्थिर रहेकाले मूल्य अझै बढ्ने देखिएको छ,” उनले भने।

जनवरी सुरु भएसँगै सुनको मूल्य निरन्तर बढ्दै गएको छ । महासङ्घका अनुसार चालू आवको साउन महिनामा प्रतितोला ९३ हजार एक सय रुपियाँमा कारोबार भएको सुनको मूल्य बढेर अहिले प्रतितोला एक लाख दुई हजार छ सय रुपियाँमा पुगेको छ । 

यसअघि २०७८ फागुन २५ मा सुनको मूल्य बढेर प्रतितोला एक लाख पाँच हजार रुपियाँमा कारोबार भएको थियो । त्यसपछि क्रमिक रूपमा घटेर ९० हजार रुपियाँमा झरेको थियो । गत मङ्सिर महिनादेखि सुनको मूल्य क्रमिक रूपमा उकालो लाग्न थालेको हो । 

सुनको मूल्य निरन्तर उकालो लागेकाले बजारमा कारोबार पनि ठप्प अवस्थामा छ । पुस महिना लागेसँगै सुन खरिदको ‘सिजन’ नभएको र मूल्य बढेका कारण सुनको कारोबार नभएको व्यवसायीको भनाइ छ । अहिले दैनिक पाँच देखि १० केजी मात्र कारोबार हुने गरेको महासङ्घले जनाएको छ । बिहे, व्रतबन्ध आदिको सिजन नभएका कारण सुनको माग शून्यमा झरेपछि व्यवसायीले पुस महिनाभरि आयात नगर्न आग्रहसमेत गरेका छन् । 

सिजनका बेला दैनिक ३५ देखि ४० किलो सुनको खपत हुने गरेकोमा अहिले भने माग नै कम भएको व्यवसायीले जनाएका छन् । सुनको मूल्य निरन्तर बढ्न थालेपछि पुराना गहना बिक्री गर्नेको सङ्ख्या पनि बढ्न थालेको उनीहरूको भनाइ छ । 

नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्रा सञ्चिति बढाउन गत वैशाखदेखि दैनिक २० किलोग्राम सुनको कोटा घटाएर १० किलोग्राममा झारेको थियो । बजारमा चाँदीको मूल्यसमेत बढेको छ । साउनमा प्रतितोला एक हजार १८० रुपियाँमा कारोबार भएको चाँदीको मूल्य तोलामा २३० रुपियाँ बढेर हाल एक हजार ४१० रुपियाँमा कारोबार भएको महासङ्घले जनाएको छ । गोरखापत्र

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan