हेटौंडा– हेटौंडामा जारी १० औं राष्ट्रिय औद्योगिक महोत्सवमा बुधबार करिब पाँच हजार जना दर्शकले अवलोकन गर्दा करिब २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
महोत्सवमा रहेका करिब ३ सय ३७ वटा स्टल र मनोरन्जन केन्द्रमा गरी करिब २० लाखको कारोबार भएको मुख्य आयोजक मकवानपुर उद्योग वाणिज्य संघले जनाएको छ । हेटौंडा–१० स्थित टिसिएन चौरमा जारी महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुद्धारा दैनिक मनोरन्जनात्मक कार्यक्रमका साथै हेटौंडा आइडल र डान्सिङ स्टार कार्यक्रमसमेत भइरहेको छ । महोत्सवमा बुधबार गायक युवराज चौलागाईले आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए । उनले लैजा चरी…, तिम्रा डोला डोला हातमा…, टुनमा को धुनमा…, तिमिलाई के भनौं जस्ता विभिन्न गीतहरु प्रस्तुत गरेका थिए ।
महोत्सवको आठौं बुधबार महोत्सव अवलोकन गर्न आएका दर्शकहरुले गीतसंगीतमा मज्जाले झुम्दै स्टलहरुको अवलोकन गरेका थिए । महोत्सवमा गायक विश्व नेपाली र गायिका शीलु भट्टराईले पनि आफ्नो सांगीतिक प्रस्तुति दिएकी थिइन् । साथै कमेडियन सुदीप थापाले महोत्सवमा उपस्थित दर्शकहरुलाई प्रहशन गर्दै हँसाएका थिए । भोलि विहीबार महोत्सवमा प्रिति आले, हेमन्त शर्मा, कृष्ण काफ्ले, शिवहरि नेपाल, मोडल तथा डान्सर करिश्मा ढकाल लगायतका कलाकारले आफ्नो प्रस्तुति दिने महोत्सवका कलाकार मनोञ्जन समितिका संयोजक एवम् संघका उपाध्यक्ष उज्वल चौलागाईले बताए । शुक्रबार भने चर्चित व्याण्ड कर्मा व्याण्डको सांगीतिक प्रस्तुति रहने जनाइएको छ ।