हेटौंडामा जारी सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता–२०७९ मा सशस्त्र प्रहरीको एपीएफ क्लबले सेमिफाइनलमा स्थान बनाएको छ ।
पाचौं सस्करणको प्रतियोगिता अन्तर्गत विहीबार हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको खेलमा विभागीय टोली त्रिभुवन आर्मीलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गर्दै एपीएफले सेमिफाइनल प्रबेश पाएको हो । खेलको निर्धारित समय गोल रहित बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।
टाइब्रेकरमा एपीएफका नवीन लामा, सुदिप सिखाकार, सनी श्रेष्ठ तथा दिपेश धिमालले गोल गरेका थिए । आर्मीका लागि टेकबहादुर बुढाथोकी र विकास खवासले मात्र गोल गरे । नवयुग श्रेष्ठ र दीपक गुरुङको प्रहार सशस्त्रका गोलरक्षक राजु नगरकोटीले बचाएका थिए ।
खेलको म्यान अफ दी म्याच सशस्त्रका गाोलरक्षक राजु नगरकोटी घोषित भए । उनले नगद दशहजार रुपैयाँ प्राप्त गरेका छन् ।
शुक्रबार आयोजक मकवानपुर ११ र मनाङ मर्स्याङ्दी क्लबवीच प्रतिस्पर्धा हुनेछ ।

