Search
Close this search box.

भुटनदेवी माविको ५६ औं अभिभावक भेला

हेटौंडा–हेटौंडा– ४ मा रहेको भुटनदेवी माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) को ५६ औं अभिभावक भेला सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फूर्वा दोर्जे लामाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लामाले विद्यालयको भौतिक एवम् शैक्षिक विकासमा भएका कामका बारेमा प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यालयका प्रधानाध्यापक माधवप्रसाद दाहालले विद्यालयको हालको अवस्था, शैक्षिक सुधारमा हालसम्म गरिएका कामहरु, आगामी शैक्षिक सत्रमा हुने शैक्षिक तथा अन्य कार्यक्रमहरु, आम्दानी र खर्चको फेहरिस्तसहितको प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यालयमा हाल एक हजार सात सय २५ जना विद्यार्थी अध्ययनरत छन् ।

कार्यक्रमकाबीच विद्यालयलाई विभिन्न तरहले सहयोग गर्ने विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, पूर्व शिक्षक, अभिभावक संघका अध्यक्षहरु, सेवा निवृत्त शिक्षकहरु, उत्कृष्ट शिक्षक, तहगत उत्कृष्ट शिक्षकलाई सम्मान तथा प्रशंसापत्र प्रदान गरिएको थियो । विद्यालयका ८जना शिक्षकलाई दीर्घ सेवा सम्मान प्रदान गरिएको थियो भने कार्यक्रमकैबीच पत्रकार सुरेश श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।

खेलकुद तथा अतिरिक्त क्रियाकालापतर्फ ३ जना शिक्षकलाई प्रसंशापत्र प्रदान गरिएको थियो । अनुशासित, नियमित र सरसफाईमा उत्कृष्ट विद्यार्थी छनौट गरी पुरस्कृतसमेत गरिएको थियो । विद्यालयबाट विविध खेलकुद गतिविधिमा संलग्न भई उत्कृष्ट विद्यार्थीलाईसमेत विद्यालयले सम्मान गरेको थियो । कार्यक्रममा बागमती प्रदेशकी पूर्व राज्यमन्त्री जुनेली श्रेष्ठ, हेटौंडा उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख गंगाधर रिमाल, श्रमिक माविका प्रधानाध्यापक श्रीराम दाहाल, शिक्षक अभिभावक संघका अध्यक्ष नारायण तिमल्सिनालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan