हेटौंडा / हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ स्थित मकवानपुर बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का अध्यक्ष छोइसाङ लामाले पदभार ग्रहण गरेका छन् ।
नवनिर्वाचित लामाले आइतबार बिहान स्ववियु निर्वाचन समितिले प्रत्यक्ष र समानुपातिक प्रणालीबाट निर्वाचित पदाधिकारी तथा सदस्यलाई प्रमाणपत्र वितरण, शपथ ग्रहण गराएपछि पदभार ग्रहण गरेका हुन् ।क्याम्पसको स्ववियु निर्वाचनमा लामाको अध्यक्षतामा ११ सदस्यीय समिति प्रत्यक्ष निर्वाचित भएको थियो भने १० जना समानुपातिक प्रणालीबाट निर्वाचित भएका छन् ।
२१ सदस्यीय समितिमा उपाध्यक्ष र सह–सचिव निर्वाचित सदस्यहरुमध्येबाट चयन हुनेछ । लामा गत चैत्र ५ गते भएको निर्वाचनमा अनेरास्ववियु क्रान्तिकारीको तर्फबाट उम्मेदवार बनेका थिए । उनले अनेरास्ववियुको तर्फबाट उम्मेदवार बनेका नवराज शर्मा पौडेललाई पराजित गरेका हुन् ।
पदभार ग्रहण कार्यक्रममा क्याम्पस प्रमुख डा. शंकरप्रसाद उपाध्यक्ष, स्ववियुका निवर्तमान अध्यक्ष कुमारबहादुर केसीलगायतको सहभागीता रहेको थियो ।

