Search
Close this search box.

संरक्षण नभएको अनौठो ओडार

धनकुटा नगरपालिका वडा नम्बर २, सुन्तलेका ध्रुव बस्नेत ७१ वर्षको पुगे। उनलाई करिब ६० वर्षयता एउटै कुराले कौतूहल जगाइरहेको छ। त्यो हो उनको घरनजिकै सल्लेरी सामुदायिक वनभित्र रहेको अनौठो घर। 

हालसम्म कुनै लिखित इतिहास फेला नपरेको र किंवदन्तीमै सीमित रहेको उक्त जङ्गलभित्रको ढुङ्गाको ओडारमा निर्मित घर कसले, कहिले र किन बनाएथ्यो भन्ने कौतूहल उनको मनमा वर्षौंदेखि रहिरहेकै छ। 

वरिपरि जङ्गल छ, त्यसको बीचमा पहरोमा एक ओडार छ। जमिनदेखि करिब सात मिटरमाथि दुई ढुङ्गाको बीचमा थप सानासाना ढुङ्गा र माटोको सहायताले पाँचरछ व्यक्ति अटाउने गरी बनाइएको ओडार छ।

त्यहाँसम्म पुग्न सखुवाको खाँबो लाथ्रो खुर्किएर सिँढी बनाइएको छ। यस्तो ठाउँमा यो बासस्थान कसले, कहिले र किन बनाएथ्यो भन्ने कुराले उनलाई अचम्ममा पारिरहेको छ।

 उनी भन्छन्, “म पहिलो पटक यहाँ आउँदा करिब ११ वर्षको थिएँ। घरनजिकै भएकाले धेरै पटक यहाँ आइयो तर यो कसले र किन बनाएको हो भन्ने किंवदन्तीबाहेक कुनै ठोस प्रमाण पाउन सकिएको छैन। अहिलेसम्म रहस्यमै रहेको छ,” बस्नेत भन्छन्, “मैले यस्तै देखेँ, मेरो बुवाले भनेअनुसार बुवाले पनि यस्तै देख्नुभएको थियो अरे र हजुरबाले पनि यस्तै देख्नुभएको थियो भन्ने बुवाले बताउनुभएको हो।”

उनी जोड्छन्, “विक्रम संवत्को १७०० को अन्त्य र १८०० को सुरुवाततिर हाम्रा पितापुर्खा यो ठाउँमा आउनुभएको रे। त्यही बेलादेखि सो स्थानलाई पञ्चकन्या मानी पूजा गरिँदै आएको छ। त्यही बेलादेखि नै त्यो स्थान त्यस्तै रहेको भनाइ छ।” 

सो अनौठो ओडारभित्र अहिले पनि विभिन्न आकारका मानव अस्थिपञ्जर रहेका छन्। केही समयअघिसम्म विभिन्न गरगहना, जीमाला, सिमालालगायतका वस्तु पनि अस्थिपञ्जरसँगै रहेको स्थानीयको भनाइ छ तर माओवादी द्वन्द्वताका ती गहना हराएको दाबी स्थानीयको छ। 

त्यहाँ भएको लामो कपाल र टाउकोको खबटोसमेत हराएको स्थानीयको दाबी छ। माटोले लगाएको गारोको माटो पनि सुकेर पथ्थरझैँ भइसकेको छ। सिँढी पनि धेरै पुरानो देखिन्छ। केही वर्ष अघिसम्म सही सलामत रहेको उक्त घरको केही भाग अहिले चर्किएको छ। यो समाचार गोरखापत्र दैनिकमा छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan