Search
Close this search box.

खुट्टा नभएका हरि सगरमाथा यात्रामा

काठमाडौं । कृत्रिम खुट्टाको भरमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने लक्ष्यसाथ भूतपूर्व गोरखा सैनिक हरि बुढामगर लुक्ला पुगेका छन् । शारीरिक रूपमा अशक्त बुढामगर बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै लुक्ला पुगेका हुन् । 

घुडामुनिको खुट्टा नभएका उनी कृत्रिम (प्रोस्थेटिक) खुट्टाको सहायतामा पहिले मीरा पिक आरोहण गरेर आउँदो वैशाखको मध्यसम्ममा आरोहणका लागि सगरमाथा बेस क्याम्प पुग्ने कार्यतालिका छ । उनले कृत्रिम खुट्टाको सहायतामा यसअघि सगरमाथाको आधार शिविर पुगेर ‘स्काई ड्राइभिङ’ गरिसकेका छन् ।

आरोहणका लागि लुक्ला उड्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छोटो प्रतिक्रिया दिँदै उनले आरोहणको तयारीअनुसार आफूलाई विभिन्न चरण पार गर्न पाँच वर्ष लागेको बताए । उनले भने, “शारीरिक रूपमा अशक्त भएका व्यक्ति कोहीभन्दा कमजोर हुँदैनन् भन्ने सबैमा आत्मविश्वास जगाउनका लागि सगरमाथाको सफल आरोहण गर्न लागेको हुँ । विभिन्न हिमाल आरोहण गरिसकेकाले उक्त अनुभवलाई सगरमाथा आरोहणमा प्रयोग गरेर आरोहण पूरा गरेरै फर्किन्छु ।”

हिमालयन स्कीमार्फत आरोहण गर्न लागेका उनीको साथमा एक जना आरोहीसहित आठ जना शेर्पा सहयोगीका रूपमा रहने छन् । हिमाली वातावरणमा घुममिल हुन करिब १५ दिन मीरा पिक आरोहणमा खर्चिने बताउँदै उनले सगरमाथा आरोहण पूरा गर्न दुई महिना लाग्ने बताए ।

रोल्पाको मिरुल गाउँमा जन्मिएका ४४ वर्षीय बुढामगरले गोरखा सैनिकमा कार्यरत हुँदा सन् २०११ मा अफगानिस्तानको लडाइँमा दुवै खुट्टा गुमाएका थिए । उनले मोरक्कोमा रहेको चार हजार १६७ मिटर अग्लो माउन्ट टुबकल हिमालको आरोहण गरिसकेका छन् । उनले फ्रान्सको चार हजार ८१० मिटर अग्लो मोन्ट ब्लाङ्क, छ हजार ५९ मिटर अग्लो चुलु सुदूरपूर्व, पाँच हजार ८९५ मिटर अग्लो किलिमन्जारो र छ हजार ४७६ मिटर अग्लो मीरा पिकको आरोहण गरिसकेको बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan