Search
Close this search box.

राष्ट्रपति रनिङ शिल्डमा जाने खेलाडीको बिदाई

हेटौंडा– काठमाडौंमा हुने बागमती प्रदेश स्तरीय १३ औं राष्ट्रपती रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सहभागी हुने मकवानपुरे खेलाडीको शनिबार बिदाई गरिएको छ ।
जिल्ला स्तरीय प्रतियोगिताबाट छनौंटमा परेका विभिन्न ६ खेलमा आवद्ध खेलाडी तथा अफिसीएल टोलीलाई हेटौंडामा औपचारीक कार्यक्रमका बिच हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले शुभकामना दिर्दै बिदाई गरेका हुन् ।

जिल्ला खेलकुद विकास समिति मकवानपुरको परिसरमा आयोजित कार्यक्रममा नगर प्रमुख लामाले जिल्लामा बढी मात्रमा पदक भित्र्याउने गरी मैदानमा उत्रन खेलाडीहरुलाई आग्रह गरिन् । खेलमा हार जित स्वभाविक भएको भन्दै आफ्नो आत्मबल बलियो बनाएर मैदानमा उत्रिए सफलता सम्भव भएको उनको भनाई थियो ।

गएको बर्षको तुलनामा खेलाडीहरुले राम्रो प्रदर्शन दिन आवश्यक रहेको भन्दै नगर प्रमुख लामाले आफ्नो कमजोरी भन्दा पनि प्रतिष्पर्धीको कमजोरी नियाल्न सके उपाधि आफ्नो बनाउन सकिने बताइन् ।

कार्यक्रममा उप प्रमुख बानियाँले जिल्लाको नामलाई अव्वल साबित गर्न आग्रह गरे । उनले प्रशिक्षकको ज्ञान र आफ्नो आत्मबललाई दरिलो साथ मैदानमा देखाउन सके उपाधि आफ्नो हुने बताए । उनले गत बर्षको तुलनामा सुधारिएको प्रदर्शन गर्न खेलाडीहरुलाई आग्रह गरे ।

काठमाडौंमा हुने १३ औं राष्ट्रपति रनिङशिल्डमा मकवानपुरबाट सहभागिता जनाउने एथ्लेटिक्स, भलिवल, कवडी, तेक्वान्दो, कराँते, उसुका कोच म्यानेजर र खेलाडी गरी ९० जनाको टोलीको बिदाई गरिएको हो । प्रतियोगितामा सहभागी हुने मकवानपुरका खेलाडीहरुलाई जिल्ला खेलकुद बिकास समितिले ६४ जना खेलाडीलाई ५ दिन बन्द प्रशिक्षणमा राखेको थियो । गत वर्ष मकवानपुरले ६ खेलमा ५ स्वर्ण हात पारेको थियो ।

जिल्ला खेलकुद बवकास समितिका अध्यक्ष भेष खड्गीको अध्यक्षतामा भएको विदाई कार्यक्रममा प्रदेश खेलकुद विकास परिषद्का सदस्य माधव तिमल्सिना, हेटौंडा उवमहानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाही जिल्लाका विभिन्न खेलकुद संघका अध्यक्ष तथा पदाधिकारीको सहभागिता रहेको थियो ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan