Search
Close this search box.

फ्लाई दुबईको विमान दुर्घटना हुनबाट यसरी जोगियो

काठमाडौंको आकाशमा फ्लाई दुबईको विमान दुर्घटना हुनबाट जोगिएको छ । त्रिभुवन विमानस्थलबाट उडेलगत्तै एउटा इन्जिनमा समस्या आएपछि आकाशमै आगोको झिल्का देखिएको विमान दुर्घटना हुनबाट जोगिएको हो ।

विमानमा विस्फोटको आवाज आएपछि केही बेर धादिङको आकाशमै होल्ड भएर विमान गन्तव्यतर्फ लागेको हो। त्रिभुवन विमानस्थलबाट दुबईका लागि उडेको कलसाइन एफडिबी ५७६ भएको विमान उडेको केही बेरमै समस्याग्रस्त बनेको भए पनि विमानमा कुनै क्षति भएन ।

असामान्य अवस्थाको विमानले आकाशमा केहीवेर फन्को लगाएको थियो । पाइलटले विमानलाई उडान नियमित गर्न सकिने भनेर विमानस्थलको टावरसँग अनुमति मागेपछि अनुमति दिइएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए ।

विमानलाई फोर्स ल्यान्ड गराउने तयारी भए पनि सुरक्षित रहेको जनाएपछि उडान अनुमति दिइएको थियो। उनका अनुसार सम्भावित दुर्घटनालाई ध्यान दिँदै विमानस्थलमा सुरक्षाका आवश्यक सबै तयारी अपनाइएको भए पनि आकस्मिक अवतरण भने गर्नुपरेन।

विमानमा आगो देखिएपछि केही समय काठमाडौं उपत्यकामा कोलाहल मच्चिएको थियो । प्राविधिक समस्या देखिएको सो विमानमा १२० विदेशी र ४९ जना नेपाली गरी १६९ जना यात्रु रहेका थिए । काठमाडौंको आकाशमा आगोको झिल्का देखिएपछि सबैतिर चासो बढेको थियो ।

काठमाडौं टावरका एटिसीलाई खबर दिएपछि ९ः२१ मा बन्द भएको विमानस्थलको धावनमार्ग १०ः१ मा खोलिएको थियो । विमानस्थलका एक अधिकारीका अनुसार आगो नियन्त्रण गर्न विमानस्थलमा ५ वटा वारुणयन्त्र तयारी अवस्थामा राखिएका थिए । फ्लाई दुबईले उड्ने क्रममा चरासँग ठोक्किएर आगोको झिल्का देखिए पनि विमान सुरक्षित तवरले गन्तव्यतर्फ उडिरहेको जनाएको छ । यो समाचार नागरिक दैनिकमा छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan