Search
Close this search box.

६ सय चढे सगरमाथाको चुचुरोमा, उठ्यो ६६ करोड रोयल्टी

संसारका विभिन्न मुलुकका ६ सय आरोहीले विश्वको सर्वोच्च शिखर सगरमाथा चढेसँगै यस वर्षको आरोहण सकिएको छ। सरकारले यो वर्षको वसन्तयामका लागि २८ वटा हिमाल आरोहण गर्न अनुमति दिएको थियो । त्यसमध्ये शनिवारदेखि सगरमाथा आरोहण सकिएको छ भने अन्य हिमाल आरोहण अझै पूरा भएको छैन ।

हिमाल आरोहण गर्न अनुमति दिएवापत यो वर्ष ७६ करोड ५७ लाख रुपैयाँ रोयल्टी उठेको छ। पर्यटन विभागका अनुसार यो वसन्तयाममा सगरमाथासहित २८ हिमालबाट ७६ करोड ५७ लाख ५८ हजार रुपैयाँ रोयल्टी संकलन भएको हो। सन् २०२२ मा ४७ हिमाल आरोहणबाट ५३ करोड ३५ लाख रुपैयाँ रोयल्टी संकलन भएको थियो। यस्तै, सन् २०२१ मा ४९ करोड रुपैयाँ संकलन भएको थियो ।

यस वर्ष हिमाल आरोहण गर्ने आरोहीको संख्या बढेसँगै रोयल्टी पनि धेरै उठेको विभागले जनाएको छ। यस वर्ष २८ हिमाल आरोहणका लागि ८० देशका ११ सय ७६ जनाले अनुमति लिएका थिए। यसमध्ये २ सय ७७ महिला र ८ सय ९९ पुरुष थिए। अघिल्ला दुई वर्ष को भिड १९का कारण हिमाल आरोहणमा जानेको संख्यामा कमी आएको थियो। सन् २०२२ देखि भने आरोहण गर्नेको संख्यामा वृद्धि भएको हो । सबैमा सगरमाथा अगाडि सरकारले २८ वटा हिमाल आरोहणका लागि अनुमति दिए पनि रोयल्टीदेखि आरोहण गर्ने संख्यालगायत सबैमा सगरमाथा अगाडि रहेको छ । यो वर्ष उठेको कुल रोयल्टीमध्ये सर्वोच्च शिखर सगरमाथाको मात्र ६६ करोड ६४ लाख रुपैयाँ छ। 

सगरमाथा आरोहणका लागि ६५ मुलुकका ४७ समूहका ४ सय ७८ जनाले अनुमति पाएका थिए। त्यसमध्ये ३ सय ७६ पुरुष र १ सय २ जना महिला थिए। विभागका अनुसार यो वर्ष सगरमाथा आरोहणका लागि अनुमति लिने आरोहीको संख्या हालसम्मकै उच्च हो ।

 सगरमाथा आरोहण अनुमति लिन विदेशी नागरिकले प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर रोयल्टी तिर्नुपर्ने व्यवस्था छ। नेपालीले भने प्रतिव्यक्ति ७५ हजार नेपाली रुपैयाँ तिरे पुग्छ ।

सगरमाथा आरोहणका लागि अनुमति लिनेहरु यो वर्ष ७० वर्षयताकै धेरै भएको पर्यटन विभागका निर्देशक युवराज खतिवडाले बताए। उनका अनुसार यो सिजनमा हालसम्मकै उच्च रोयल्टी संकलन भएको छ । विगतमा ६० करोडसम्म रोयल्टी जम्मा भएको थियो । यो समाचार कारोबार दैनिकमा छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan