Search
Close this search box.

हुलाक बचत बैंकको मेटिँदै अस्तित्व, कर्मचारीले लिएको २७ करोड ऋण जोखिममा

विपन्न र सर्वसाधारण जनतालाई झन्डै पाँच दशक बैंकिङ पहुँच पुयाएको हुलाक बचत बैंकको अन्ततः अवसान भएको छ । गाउँगाउँका विपन्न र न्यून आम्दानी भएकाहरूलाई बचत गर्ने बानी विकास गराउने एक मात्रै बैंकका रूपमा हुलाक बचत बैंक रहेको थियो।

ग्रामीण तहसम्म सञ्जाल भएको यो बैंकले जनताको पैसा बचत गर्थ्यो, ब्याज दिन्थ्यो । चाहिएको बखत बैंकबाट साँवा रकम झिकेर आफ्ना आर्थिक समस्या टार्ने गर्थे सर्वसाधारण स्थापनादेखि पुरानै पारावाट चलेको यो बैंक आधुनिक बैंक प्रणालीसँगै हिँड्न नसक्दा अवसान हुन पुगेको हो।

बैंकको पहुँच नपुगेका बेला सरकारले जिल्ला हुलाकमार्फत हुलाक कर्मचारी र सर्वसाधारणमा छरिएर रहेको पुँजीलाई एकीकृत गरी बचत गर्ने बानीको विकास गराउने र वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले बैंक सञ्चालन गरेको थियो ।

आर्थिक वर्ष २०३३/३४ मा हुलाक बचत बैंक स्थापना भएको थियो । करिब पाँच दशकदेखि बचत गर्दै आएका बचतकर्ताहरूका लागि सरल र सहज वित्तीय सेवा प्रदान गरेको बैंक अहिले बन्द गर्ने निर्णयमा सरकार पुगेको छ । बैंकमा रकम झिक्नेको भिड लागिरहेको छ ।

स्थानीय तहसम्मै सुविधा सम्पन्न आधुनिक बैंक प्रणाली पुगेपछि हुलाक बचत बैंकमा आकर्षण भएन । तर हुलाक सेवा विभाग र सञ्चार मन्त्रालयमा कार्यरत कर्मचारीहरूलाई ८ प्रतिशत ब्याजदरमा ऋण लिने सुविधा दिइएको छ । त्यस्तै ६ करोडसम्म निक्षेप भएका हुलाक बचत बैंकमा २ जना र ६ करोडभन्दा माथि भएका बैंकमा तीनजना कर्मचारीलाई १ लाखमा २ प्रतिशत ब्याजदरमा ऋण पाउने सुविधा छ ।

१ हजार ६८२ कर्मचारीले २७ करोड १३ लाख ऋण लिएका छन् । सर्वसाधारणको पैसा कर्मचारीले मात्रै लाभ लिने अवस्थाले पनि आकर्षण घटेको हो । ‘ऋणको सुविधा सबैको पहुँचमा बनाउन आवश्यक नीतिगत सुधारमा समेत सरकार उदासीन देखियो। बैंक सञ्चालन गर्न आवश्यक संवेदनशीलता न कर्मचारीबाट भयो न सरकारबाटै भयो,’ विभागका अधिकृत बस्यालले भने । यो समाचार नागरिक दैनिकमा छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan