हेटाैँडा- एस्ट्रोनोभा फाउन्डेसन नेपालको आयोजनामा हेटौँडामा विद्यालय तहका विद्यार्थीलाई लक्षित गरी ९ दिने रोबोटिक्स र अटोमेसनसम्बन्धी प्रशिक्षार्थी प्रशिक्षक कार्यशाला सोमबार हेटौंडामा सुरु भएको छ। असार २६ गतेसम्म सञ्चालन हुने कार्यशालामा हेटौंडाका विभिन्न १८ वटा विद्यालय तथा क्याम्पसका गरी करिब ५० जना विद्यार्थीको सहभागिता रहेको छ ।
हेटौँडा-४, भैरवरोडस्थित साहित्य सङ्गम मकवानपुरको सभाहलमा ९ दिनसम्म हरेक दिन दिउँसो १ बजे देखि ४ बजेसम्म हुने कार्यशालामा अनुज अधिकारी, आयुष बस्नेत, सन्देश तामाङ, रविन परियार लगायतले प्रशिक्षकको भूमिका खेल्ने जानकारी महासचिव चिरञ्जीवी लामिछाने बताए । मङ्गलबारदेखिको कार्यशालामा भने छानिएका २१ जना विद्यार्थीलाई सहभागी गराइनेछ ।
यस फाउन्डेसनमा आबद्ध विद्यार्थीद्वारा तयार गरिएको मोबाइल एपमार्फत दियो बालेर सोमबार भएको उद्घाटन सत्रमा ब्रेनीक्युब रिसर्च अर्गनाइजेसन नेपालका कार्यकारी अध्यक्ष तथा नेपालका युवा वैज्ञानिक आकाश देवको प्रमुख आतिथ्यता रहेको थियो भने विज्ञान शिक्षक एशाेसिएसन नेपाल मकवानपुरका जिल्ला उपाध्यक्ष भरत पोखरेल तथा विभिन्न विद्यालयहरूका शिक्षक प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो । एस्ट्रोनोभा फाउन्डेसन नेपालका अध्यक्ष किशन बास्तोलाको अध्यक्षतामा भएकाे कार्यक्रममा प्रकृति अर्यालले सहजीकरण गरेकी थिइन् ।
विद्यार्थीकाे समग्र शैक्षिक गुणस्तर अभिवृद्धि सिर्जनशीलता, उद्यमशीलता, क्षमता विकास र उत्पादनशीलताका साथै बदलिँदो विश्व परिवेश अनुकूल चल्नका लागि विज्ञान, प्रविधि, नवप्रवर्तन , गणित, अनुसन्धान, स्टार्टअप र रोजगारी विकासका क्षेत्रमा नयाँ आयाम स्थापित गरी दुरगामी लक्ष्यका साथ यस क्षेत्रको सामाजिक तथा आर्थिक रूपान्तरण गर्ने उद्देश्य राखेको एस्ट्रोनोभा फाउन्डेसन नेपालले हेटौँडामा विगत दुई वर्षदेखि आफ्ना गतिविधिहरूलाई अगाडि बढाइरहेको छ ।
शिक्षा क्षेत्रमा दशकदेखि विभिन्न निकायमा प्रत्यक्ष रूपमा संलग्न तथा अनुभव प्राप्त विविध क्षेत्रका प्राज्ञिक तथा विज्ञ व्यक्तिहरुको बीचमा विचार विमर्श, अध्ययन तथा अनुसन्धान पश्चात यस फाउन्डेसनको अवधारणा अघि सारिएको हो ।

