Search
Close this search box.

बागमतीका किसानले पाए एक करोड ५७ लाख रुपैयाँ राहत

हेटौंँडा, २८ असार– बागमती प्रदेशका प्रकोपपीडित ४१ जना किसान तथा कृषि फार्मले एक करोड ५७ लाख रुपैयाँ राहत रकम प्राप्त गरेका छन् । प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले प्राकृतिक र गैर प्राकृतिक विपदबाट प्रभावित बनेका किसानलाई राहत प्रदान गरेको हो । कृषि, पशुपन्छी तथा मत्स्य क्षेत्रमा प्रतिकुल असर पार्ने सबै खालका विपदवाट प्रभावित बनेका किसानलाई उनीहरुको क्षतिको अवस्था मूल्यांकन गरी मन्त्रालयले एक करोड ५७ लाख ७५ हजार १ सय ६० रुपैयाँ रकम वितरण गरेको हो ।

 राहत तथा क्षतिपूर्ति दावीका लागि मन्त्रालयले २०७९ मंसिर २३ गते सार्वजनिक सूचना मार्फत विपदवाट प्रभावित किसानलाई निवेदन पेश गर्न आव्हान गरेको थियो । कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. राजेन्द्रमान श्रेष्ठको संयोजकत्वमा बनेको राहत व्यवस्थापन तथा निर्देशन समितिको विभिन्न मितिमा बसेको बैठकले  कृषकको छनौट गरी राहत वितरण गरिएको हो ।राहत पाउनेमा चितवनका १२, मकवानपुरका १०, काभ्रे जिल्लाका ९, नुवाकोट, ललितपुर र धादिङका २÷२ जना कृषक र कृषि फार्म रहेका छन् । सिन्धुली, भक्तपुर, काठमाडौं र दोलखाका १÷१ जना कृषकले पनि प्रदेश सरकारले प्रदान गरेको राहत प्राप्त गरेका छन् ।     

काभ्रेको नोबेल कृषि फर्मलाई ५ लाख ७० हजार, हाम्रो माझिफेदा पशुपालन तथा कृषि फर्मलाई ३६ हजार, दाजुभाई एकिकृत बहुउद्देश्य कृषि फार्मलाई ३५ हजार, गैरि गाउँ कृषि तथा पशुपन्छी फार्मलाई ८ लाख २० हजार, टिम भिजन एग्रिकल्चर  फार्मलाई १० लाख, श्रेष्ठ वंगुर फार्मलाई ९ लाख ६० हजार, उन्नति हाम्रो बंगुर फार्मलाई १० लाख र एस.एस. बंगुर माछा तथा कृषि फार्मलाई १० लाख राहत रकम उपलब्ध गराइएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले बताए ।त्यस्तै चितवन जिल्लाको पाथिभरा पशुपालन तथा दाना उत्पादन केन्द्र प्रा.लिलाई १० लाख, गोपी पशुपन्छी फर्मलाई १० लाख, गौशाला कृषि फर्मलाई ८ लाख ७० हजार, न्यु कर्माचार्य एकिकृत फर्म १० लाख, सिमलढाप कृषि व्यवसायिक फर्म २ लाख, श्री कुमार चेपाङलाई २ लाख, गुरुङ्ग एकिकृत पशुपन्छी पालन तथा वंगुर फर्मलाई १ लाख ४० हजार, पौडेल एकिकृत पशुपन्छी मत्स्य तथा कृषि फर्म ६ लाख २० हजार, सियाना महतो र सुकदेव धरेललाई १०/१० हजार रुपैयाँ वितरण गरिएको थियो । यसैगरी चितवनकै दण्डपाडी दनैलाई ११ हजार १ सय ६० र  सावित्री कुमारी धरेललाई  ६ हजार १ सय २० रुपैयाँ राहत रकम उपलब्ध गराइएको छ । त्यसैगरी नुवाकोट जिल्लाको धादिङ कृषि फर्म ३ लाख ८० हजार, एस.आर. बंगुर तथा पशुपन्छी फर्म ७ लाख ३० हजार प्रदान गरिएकोमा पोकम कृषि बहुउद्देश्यीय प्रा.लि, भक्तपुरलाई १० लाख रुपैयाँ प्रदान गरिएको थियो । ललितपुरको त्रियोगा एग्रिकल्चर प्रा.लि र सुनाखरी पशुपालन तथा अर्गानिक तरकारी फार्म प्रा.लीले पनि १०/१० लाख प्राप्त गरे ।

धादिङका मंगली नेपालीलाई. १० हजार र रामबहादुर रोक्कालाई ४० हजार रुपैयाँ राहतस्वरुप खातामा रकम भुक्तानी गरिएको थियो । यस्तै सिन्धुलीको एस.एस. पशु रागा फर्म तथा माछापालन फार्मलाई. १ लाख ३० हजार प्रदान गरिएको छ । मकवानपुर जिल्लाको एलिना बंगुर फर्मलाई ३ लाख ९० हजार, सिमलथली बाख्रा फर्म १ लाख १३ हजार, श्री कल्पना घिमिरेलाई १ लाख ३६ हजार ९ सय २०, अम्बिका खतिवडालाई १० हजार ८०, कृष्ण प्रसाद दंगाललाई १० हजार ८०, किर्तिमान श्रेष्ठलाई  १७ हजार ६ सय ४०, प्रदिप थापा क्षेत्रीलाई ५ हजार ६ सय, एकिकृत बस्ताकोटी कृषि फर्मलाई ४५ हजार १ सय ६०, अनुस्थ नर्सरी तथा व्यवसायिक तरकारी फर्मलाई  ३० हजार २ सय ४० र  पुष्पराज पराजुलीलाई  १० हजार ८० राहत रकम उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ । दोलखा भिमेश्वरका मान बहादुर तामाङ्गले एक लाख १० हजार रुपैयाँ राहत काठमाडौं चन्द्रागिरी न.पा.–२ का श्री सन्देश महर्जनले २८ हजार राहत रकम प्राप्त गरेका छन्  ।

प्राकृतिक तथा गैरप्राकृतिक विपदबाट क्षति पुगेका कृषकलाई राहत प्रदान गर्ने उद्देश्यले मन्त्रालयले आव २०७९/०८० राहत वितरण कार्यविधि,२०७९ स्वीकृत गरी सोहीअनुसार कार्यान्वयन गराएको थियो । राहत रकम प्राप्त गर्नको लागि किसानले निवेदनको साथै विपदको घटना खुल्ने प्रहरी मुचुल्का, सम्बन्धीत स्थानीय तहको सिफारिस, सम्बन्धित कृषि ज्ञान केन्द्र/भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सिफारिस, राहत व्यवस्थापन समितिको सिफारिस, बीमा नगरेको प्रमाण, कुनै निकायवाट राहत नलिएको प्रमाणका साथ क्षति देखिने फोटो वा भिडियो अनिवार्य पेश गर्नुपर्ने उल्लेख गरिएको थियो ।
मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीकाअनुसार हाल मन्त्रालयमा राहतका लागि ६ वटा नया निवेदन दर्ता भइसकेको छ भने ११ वटा निवेदनको कागजात चेकजाच सकेर निर्देशन समितिमा पेश हुने प्रक्रियामा रहेको छ । मन्त्रालयले कृषकलाई राहत वितरणका लागि आगामी आव २०८०/०८१ मा ५ करोड रुपैँयाँ विनियोजन गरेको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan