काठमाडाैं- नवसर्जक साहित्य चाैतारी नेपालका वरिष्ठ उपाध्यक्ष एवम् बालकवि विभूति अधिकारीकाे ‘अर्जुनदृष्टि’ नामक कविता सङ्ग्रह एक विशेष समाराेहका बिच विमाेचन भएकाे छ । छन्द तरङ्गद्वारा शनिबार आयाेजित कार्यक्रम नवसर्जक साहित्य चाैतारी नेपाल, ऐरावती प्रकाशन र एम्बिसन एकेडेमीले सहकार्यमा पद्माेदय माध्यमिक विद्यालय, काठमाडाैँकाे सभाहलमा सम्पन्न भएकाे हाे ।
छन्द तरङ्गका संयाेजक अग्रज छन्द कवि एवम् समालाेचक प्रा. डा. रामप्रसाद ज्ञवालीकाे अध्यक्षतामा आयाेजित समाराेहमा वरिष्ठ भाषाविद्, बालसाहित्य अन्वेषक/अभियन्ता प्रा. डा. चुडामणि बन्धुकाे प्रमुख आतिथ्य रहेकाे थियाे । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान सदस्य सचिव जगत् उपाध्याय ‘प्रेक्षित’, काव्य विभागका निवर्तमान प्रमुख हेमनाथ पाैडेल, बालसाहित्य एवम् लाेकवार्ता विभागका निवर्तमान प्रमुख प्रा. डा. देवी नेपाल, सिक्किमका कवि, प्राध्यापक एवम् नेपाली भाषाका अभियन्ता तेजमान बराइली, कवि /समालाेक प्रभा भट्टराईलगायतकाे विशिष्ट आतिथ्य रहेकाे थियाे भने नवसर्जक साहित्य चाैतारी नेपालका संरक्षक एवम् परिकल्पनाकार दीपक गाैतम, सल्लाहकार एवम् पुरस्कार संस्थापक विष्णु न्याैपाने, कृतिकारका पिता रामप्रसाद अधिकारी, माता गायत्री भट्टराई, एम्बिसन एकेडेमीका प्रिन्सिपल देवी घिमिरेलगायत ३०० भन्दा बढी साहित्यकार/साहित्यानुरागीकाे आतिथ्य एवम् उपस्थिति रहेकाे थियाे ।
काेभिड कहरका समयमा हेटाैँडाबाट दीपक गाैतमले २०७७ जेठदेखि सञ्चालन गरेकाे ‘नवसर्जककेन्द्रित अनलाइन साहित्यिक प्रशिक्षण अभियान’ बाट छन्दमा कलम चलाउन थालेका धनगढी कैलालीका विभूति अधिकारीले २०७७ चैत २ गते ‘अद्भुत इन्द्रेनी’ नामक खण्डकाव्यमार्फत् नेपाली साहित्यमार्फत् आफ्नाे सशक्त उपस्थिति जनाइसकेका छन् । हाल विमाेचित ‘अर्जुनदृष्टि’ कवितासङ्ग्रहमा शास्त्रीय छन्दमा रचित विविध भावका ४९ वटा कविताहरू सङ्कलित रहेका छन् । कार्यक्रममा बाेल्ने सम्पूर्ण वक्ता तथा अतिथिहरूले विभूतिमा काव्यप्रतिभा प्रचुर रहेकाे र उनीद्वारा रचित दुवै कृति छन्द, भाव, विचार, बिम्ब, प्रतीक तथा अलङ्कार प्रयाेगका हिसाबले उच्च काेटीकाे रहेकाे र ‘अर्जुनदृष्टि’ मा समाविष्ट ४९ वटै कविता स्तरीय रहेकाे विचार अभिव्यक्त गरेका छन् । विभूति अधिकारीकाे १७ ओैँ जन्माेत्सवका अवसरमा आयाेजित विमाेचन कार्यक्रममा उपस्थित सबै साहित्यकार/साहित्यानुरागीलाई कृति निशुल्क उपलब्ध गराइएकाे थियाे । नवसर्जक साहित्य चाैतारी नेपालका महासचिव समर्पण न्याैपानेले कार्यक्रमकाे सहजीकरण गरेका थिए ।


