Search
Close this search box.

आस्मान गोपाली मृत्यु प्रकरण; अनुसन्धानमा ६ जना प्रहरी नियन्त्रणमा


हेटौँडा । मकवानपुरको हेटौँडा–११ थानाभर्‍याङमा ४१ वर्षीय आस्मान गोपाली मृत फेला परेको घटनामा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
थाहा नगरपालिका–१० निवासी गोपाली आइतबार बिहान करिब ६:१५ बजे यातायात व्यवस्था कार्यालय नजिक शंकास्पद अवस्थामा मृत फेला परेका थिए। घटनापछि प्रहरीले अनुसन्धान तीव्र बनाउँदै गोपालीसँगै हेटौँडाको एक होटलमा तीन वटा कोठा बुक गरेर बसेका ६ जनालाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा गोपालीसहित उनीहरू ग्राहकका रूपमा होटलमा बसेको र आपसी विवादपछि घटना भएको देखिएको छ। मृतकका आफन्तले दिएको किटानी जाहेरीका आधारमा पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटनाको राति स्थानीयले झगडा भएको र सहयोगका लागि गुहार मागेको आवाज सुनेको जानकारी प्रहरीलाई दिएका छन्। सोही आधारमा घटनाको अनुसन्धान भइरहेको छ।
प्रहरीले घटनाको वास्तविकता पत्ता लगाउन बागमती प्रदेश प्रहरी कार्यालयको केनाइन शाखाबाट स्निफर डगसहितको टोली परिचालन गरेको छ। साथै घटनास्थल वरपरका होटल तथा सडकमा जडान गरिएका सिसिटिभी क्यामेराको फुटेजसमेत अध्ययन भइरहेको प्रहरीले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan