– शिवराज शाही
बर्षौ भयो तिमी अस्ताएको
तिम्रो छायाँ यतै छ ।
तिम्रो आत्मा यतै छ ।
तिम्रो माया यतै छ ।
जलेर खरानी भएका छैनौं
जस्तो लाग्छ ।
मलाई कतिबेला आउला भनी
पिढीमा पर्खिरहेछौ
जस्तो लाग्छ ।
तिमीले बाँचेको जिन्दगी
बाच्न मन छ मलाई पनि
तिमी जस्तै बनी सधैभरी ।
तिमीले बाँचेको जिन्दगी
बाच्न मन छ मलाई पनि ।
जान मन छ
पाटनमा भेडा चराउन ।
हिँड्न मन छ
भारी बोकी तिमीले हिँडेका भिरपाखा ।
सुसेली हाल्दै सुस्ताउन मन छ
तिमीले थकान मेट्ने चौतारीमा
पिउन मन छ त्यही मुलको पानी
जहाँ तिमीले प्यास मेटाएका थियो ।
जिन्दगी रित्याउन मन छ त्यही भेडीगोठमा जहाँ तिमीले जिन्दगी रित्याएका थियौ ।
उन्न मन छ एउटा स्वीटर त्यही कुरुषले
जुन कुरुषले तिमीले हाम्रा सपना
उनेका थियौ ।
भित्तामा झुन्डिएको छ ।
तिमीले लाउने दउरा सुरुवाल
एउटा निर्मम शुन्यता बोकेर
उदास साँझ मा उदास बनी
तिमीले पिउने तमाखु आज
तिम्रो सास कुरिबसेको छ ।
सेताम्मे बनेकी छिन् हजुरआमा आज
तिमी सधैं(सधैलाई निदाएपछि
रङगिन हुनेछ हजुरआमाको पहिरन एकदिन
हजुरबा, तिमी फर्केर आएपछि ।
मलाई हजुरआमाले
रातै लाएको हेर्न मन छ
तिमीले दिएको एक चिम्टी सिन्दुर जस्तै ।
मलाई अन्तिम सास फेर्न मन छ
यिनै पाखा पहरामा
तिमीले फेरेको जस्तै ।
बगाउन मन छ पसिना को हिमनदी
तिमीले बगाएको जस्तै ।
नुन लिन हाट जान मन छ
तिमीले जस्तै घोडाको बथान लिएर
मलाई जीवन बिताउन मन छ
तिमीले जस्तै सारा जीवन सन्तानलाई सुम्पिएर ।
चुपचाप हराउन मन छ
कसैलाई केही नभनी
तिमी हराए जस्तै ।
हजुरबा, मलाई जिन्दगी बाच्न मन छ ।
तिमीले बाँचेको जस्तै


