कविताः चोचोमोचो/यश लामा

– यश लामा

जनजनको छातीमा ठोक्किन्छ
र दुर्घटित भएर मर्दछ एउटा आदर्श
जब आकाशजस्तो नेता
दलालहरूसँग मिलाइरहेको हुन्छ कुम ।

आँखामा बाढी पस्छ धमिलो
र आकस्मिक बगेर मर्दछ अर्को आदर्श
जब धरतीजस्तो योद्धा
कमिसनखोरहरूसँग मिलाइरहेको हुन्छ हात ।

विश्वासको पहिरो खस्छ
र पुरिएर मर्दछ
मार्क्सवाद पढाउने शिक्षक
जब नाँच्न थाल्दछ
पूँजीपतिहरूको लयमा उसको खुट्टा ।

यहाँ भत्किएको पुल मात्र हैन
राष्ट्र प्रमुखको हातमा परेको
अन्तर्राष्ट्रिय पुलिन्दाको संस्कार पनि हो ।

कविको काँधमा
सत्ताले थपिदिएको फुली पनि हो ।

न्यायमाथि छल हुन्छ
र ग्याबलले आफ्नै टाउको ठोकेर मर्दछ
जब न्यायधिसको तराजु
इन्द्रजालले प्रभावित हुन्छ ।

यी पटाक्षेपहरूबाट
जनताको मस्तिष्कमा जन्मिएका छन्
मनोविज्ञानका भयङ्कर डरलाग्दो शृङ्खलाहरू ।

अफिमको नसाले लठ्ठिन्छ
र महायज्ञभरि ज्ञानको लेउमा
चिप्लिरहन्छ घरिघरि
जब महापुरुषको हलो
जातको खेतमा अड्किन्छ ।

बोझिला छन् यी अप्राकृतिक संस्करणहरू
रिङ्ग्याई रहन्छन् विचारले तिरिमिरि तिरिमिरि
कयौँपटक उचाल्छन् पछार्छन्
पुरै थिल्थिलो पार्छन् ।

चोचोमोचो
चोचोमोचो
चोचोमोचो
बजारभरि फैलिएको एउटा नमीठो दुर्गन्ध ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

मनहरी- मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ । एकअर्थ फाउन्डेसन र विल्डिङ एजुकेशन नेपालको सहयोगमा निर्माण गर्न लागिएको ४ कोठे भवनको नेपाली ...