Search
Close this search box.

शिक्षक महासंघले गर्यो निर्णायक आन्दोलनको घोषणा

शिक्षकहरुको आधिकारिक पेशागत संस्था शिक्षक महासंघले प्रस्तावित विद्यालय शिक्षा ऐनको मस्यौदा विरुद्ध निर्णायक आन्दोलनको घोषणा गरेको छ । आफ्ना पेशागत मर्यादा र हक हितलाई पञ्चायतकालीन निरंकुशता भन्दा तल गिरेर मन्त्रीपरिषद्ले स्वीकृत गरेको भन्दै सरकारले जारी गर्न लागेको ऐन विरुद्ध शिक्षक महासंघले चरणवद्ध निर्णायक आन्दोलनको घोषणा गरेको हो ।

आन्दोलनले प्रथम चरणमा देशभरका शिक्षक कर्मचारीलाई २८ गते आ-आफ्नो पालिकामा उपस्थित भई ३ घण्टा अर्थात ११ बजेदेखि २ बजेसम्म शिक्षक महासंघसंग भएको सरकारको ५१ बुँदे र ३० बुँदे सहमतिको छायाँप्रति बुझाउँदै धर्ना दिन आग्रह गरेको छ भने ३० गते पनि सोहि कार्यक्रम र समयमा ७७ वटै शिक्षा विकास तथा समन्वय ईकाईमा धर्ना दिन आग्रह गरेको छ । यसैगरी श्रावण ३२ गते भने प्रदेश स्तरिय महासंघका पदाधिकारी तथा प्रतिनिधी सहित सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालयमा सोही छायाप्रति बुझाउँदै धर्ना दिने र भाद्र १ गते संघीय संसद तथा केन्द्र सरकार एवम् शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा पक्षीकरण र विरोधबारे जानकारी दिने कार्यक्रम तय गरेको छ

यसैगरी प्रस्तावित विद्यालय शिक्षा ऐनको आवश्यक संशोधन नभएमा शिक्षक महासंघले दोस्रो चरणको आन्दोलनमा भने प्रस्तावित विद्यालय शिक्षा ऐन संघीय संसदमा दर्ता भएको पाचौं दिनबाट देशभरका शिक्षक कर्मचारी काठमाण्डौ भेला भई काठमाण्डौ केन्द्रित आन्दोलनमा सहभागी हुन आह्वान गरेको छ ।

यता नेपाल सरकारको आधिकारिक पेशागत संस्था शिक्षक महासंघले निर्णायक आन्दोलनको घोषणा गरिरहँदा विद्यालय शिक्षा ऐन तत्काल जारी नभए ८ विद्यार्थी संगठनले कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिडाँडामा शनिबार बसेको बैठकले संयुक्त विद्यार्थी संगठनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै ८ विद्यार्थी संगठनहरू एकढिक्का भएर सशक्त आन्दोलन गर्ने सहमति भएको अखिल क्रान्तिकारीका प्रवक्ता उपदेश यादवले जानकारी दिएका छन् । ८ विद्यार्थी संगठनले संघर्षका कार्यक्रमहरू २०८० श्रावण २८ गते दिउँसो २ : ०० बजे माईतिघर मण्डलामा ‘सडक पत्रकार सम्मेलन’ मार्फत सार्वजनिक गरिने प्रवक्ता उपदेश यादवले बताएका हुन् ।


महासंघ अध्यक्ष कमला तुलाधर नेकपा एमालेमा फर्किएपछि हलचल

नेपाल शिक्षक महासंघकी राष्ट्रिय अध्यक्ष कमला तुलाधर नेकपा एमालेमा फर्किएको समाचार बाहिरिएसंगै देशभर हलचल उत्पन्न भएको छ । तुलाधरले शनिबार बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर आफू पूरानै घरमा फर्किएको बताएकी थिईन् ।

नेकपा एमाले छोडेर तुलाधर यसअघि नेकपा एकीकृत समाजवादीकी वैकल्पिक केन्द्रीय सदस्य भएकी थिइन्। तर पछिल्लो समय देशमा सरकारले विद्यालय शिक्षा ऐन जारी गर्न लागेकै समय पारेर उनी आफ्नाो पुरानो घर फर्किएपछि यसले खास महत्व राखेको बताईएको छ । विद्यालय शिक्षासम्बन्धी विधेयकका विरोधमा महासंघ आन्दोलनमा उत्रिएकै मौकामा अध्यक्ष तुलाधरले पार्टी परिवर्तन गरेकी हुन् ।


शिक्षक संगठन मकवानपुरले प्रधानमन्त्रीलाई गरायो ध्यानाकर्षण

प्रमूख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई पत्र बुझाउँदै संगठन मकवानपुर अध्यक्ष श्रीराम दाहाल

यता देशभर प्रस्तावित विद्यालय शिक्षा ऐनको विरोध चलिरहेकै बेला नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरले प्रमूख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई ध्यानकर्षण पत्र बुझाएको छ । पत्रमा भनिएको छ देश संघीय गणतान्त्रिक मुलूकको अभ्यासमा गईसकेपछि यसलाई संस्थागत गर्नु र मुलूकको अग्रगामी परिवर्तन गर्नु हामी सबैको दायित्व र नैतिक कर्तब्य पनि हो । जसको सार्थकता शिक्षा बाहेक अरु क्षेत्रबाट संभव देखिदैन । मुलूकको आम परिवर्तनका लागि शिक्षक र शिक्षा क्षेत्रबाट जति पहल भएको छ, त्यसको प्रष्ट तस्वीर इतिहासका ऐनामा छर्लङ्ग छ ।

५२ वर्षपछि मुलूकले प्राप्त गर्न लागेको शिक्षा ऐन पञ्चायतकालीन शिक्षा ऐन र त्यसको निरंकुशतावाद भन्दा अझै पश्चगामी भएको ठहर गर्दै त्यसप्रति नेपाल राष्ट्रिय शिक्षक संगठनको गम्भीर ध्यान आकर्षण भएको पत्रमा उल्लेख छ । पेशाकर्मीलाई नेपालको संविधान २०७२ ले दिएको मौलिक हक अन्तर्गत भाग ३ धारा १७ स्वतन्त्रताको हक समेत प्रतिकुल हुनेगरी अंकुश लगाउँदै जारी हुने तर्खरमा रहेको प्रस्तावित विद्यालय शिक्षा ऐन अविलम्व सच्चयाएर आफ्ना माग संवोधन गर्न शिक्षक संगठन मकवानपुरले पत्रमा उल्लेख गरेको अध्यक्ष श्रीराम दाहालले प्रदेश सञ्चारलाई बताउनुभयो । शनिबार नै सोही व्योराको पत्र शिक्षा विकास तथा समन्वय ईकाई मार्फत शिक्षामन्त्री समक्ष पनि पठाईएको अध्यक्ष दाहालले बताए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan