
शिक्षक महासंघको आह्वानमा पूर्वघोषित कार्यक्रम अनुसार शान्तिपूर्वक धर्ना दिन हेटौडा उपमहानगरपालिका पुगेका शिक्षक कर्मचारीलाई नगरप्रहरीले आईतबार धरपकड गरेको छ । नेपालको संविधान २०७२ को भाग ३ धारा १७ को उपदफा २ ख बममोजिम शान्तिपूर्वक आफ्ना मागहरु राख्न पुगेका शिक्षकलाई नगरप्रहरीले दुर्व्यवहार सहित धरपकड गरेको शिक्षक संगठन मकवानपुर अध्यक्ष श्रीराम दाहालले बताए । दाहालले भने यो मौलिक हकको हनन हो ।
शिक्षकको आधिकारिक ट्रेड युनियन शिक्षक महासंघले प्रस्तावित विद्यालय शिक्षा ऐनको विरोध स्वरुप पहिलो चरणको पूर्वघोषित कार्यक्रम अनुसार आज देशका ७ सय ५३ वटै स्थानीय पालिकामा धर्ना दिएका हुन् । यही विरोध कार्यक्रममा क्रममा मकवानपुरको हेटौंडा उपमहानगरमा भने धरपकड भएको दाहालले बताए ।
महासंघले आफ्ना पेशागत मर्यादा र हक हितलाई पञ्चायतकालीन निरंकुशता भन्दा तल गिरेर मन्त्रीपरिषद्ले प्रस्तावित विद्यालय शिक्षा ऐन स्वीकृत गरेको भन्दै सरकारले जारी गर्न लागेको ऐन विरुद्ध चरणवद्ध निर्णायक आन्दोलनको घोषणा गरेको हो ।
आन्दोलनले प्रथम चरणमा देशभरका शिक्षक कर्मचारीलाई २८ गते आ-आफ्नो पालिकामा उपस्थित भई ३ घण्टा अर्थात ११ बजेदेखि २ बजेसम्म धर्ना दिन भनेकोमा आज देशभर धर्ना कार्यक्रम भएको महासंघ अध्यक्ष कमला तुलाधरले बताईन । शिक्षक महासंघसंग भएको सरकारको ५१ बुँदे र ३० बुँदे सहमतिको छायाँप्रति बुझाउँदै शिक्षक कर्मचारीले धर्ना दिएका हुन । प्रथम चरणकै कार्यक्रम अनुसार ३० गते पनि सोहि समयमा ७७ वटै शिक्षा विकास तथा समन्वय ईकाईमा धर्ना दिन महासंघले आग्रह गरेको छ । यसैगरी श्रावण ३२ गते भने प्रदेश स्तरिय महासंघका पदाधिकारी तथा प्रतिनिधी सहित सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालयमा सोही छायाप्रति बुझाउँदै धर्ना दिने र भाद्र १ गते संघीय संसद तथा केन्द्र सरकार एवम् शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा पक्षीकरण र विरोधबारे जानकारी दिने कार्यक्रम तय गरेको छ ।
यसैगरी प्रस्तावित विद्यालय शिक्षा ऐनको आवश्यक संशोधन नभएमा शिक्षक महासंघले दोस्रो चरणको आन्दोलनमा भने प्रस्तावित विद्यालय शिक्षा ऐन संघीय संसदमा दर्ता भएको पाचौं दिनबाट देशभरका शिक्षक कर्मचारी काठमाण्डौ भेला भई काठमाण्डौ केन्द्रित आन्दोलनको घोषणा गरेको छ ।
यता नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिले महासंघको आन्दोलनप्रति ऐक्यवद्ता जनाउँदै महासंघले घोषणा गरेको कार्यक्रम सफल पार्न आग्रह गरेको महासचसव हंशबहादुर साहीले बताए । अध्यक्ष बिष्णुप्रसाद भण्डारी र महासचिव साहीले संयुक्त हस्ताक्षर गरी सर्कुलर जारी गर्दै आन्दोलनलाई निर्णायक बनाउन ७७ वटै जिल्ला कमिटिलाई निर्देशन समेत दिएका छन् ।

