Search
Close this search box.

शिक्षा विकास समन्वय इकाईमा मकवानपुरे शिक्षककाे धर्ना

हेटाैंडा- शिक्षक महासंघ राष्ट्रिय समितिको आह्वानमा पहिलो चरणको कार्यक्रम अन्तर्गत शिक्षा विकास तथा समन्वय इकाईमा धर्ना दिन सयौंको संख्यामा शिक्षकहरु उपस्थित भएका छन् । शिक्षक महासंघसंग भएको सरकारको ५१ बुँदे र ३० बुँदे सहमतिको छायाँप्रति बुझाउँदै शिक्षक कर्मचारीहरुले पूर्वघोषित कार्यक्रम अनुसार ३ घण्टा धर्ना दिएका हुन् ।

३ घण्टे धर्नाको पछिल्लो समयमा कोणसभा गर्दै सरकारले जारी गर्न थालेको प्रस्तावित संघीय शिक्षा ऐनको विरोधमा शिक्षक नेताहरुले भर्त्सना गरेका हुन् । धर्ना कार्यक्रममा बोल्दै शिक्षक संगठन मकवानपुर अध्यक्ष श्रीराम दाहालले अहिले शिक्षकहरुलाई सरकारले एकैठाउँमा आउन बाध्य पारेको भन्दै शिक्षक आन्दोलनको नेतृत्व गर्न विगतमा जस्तै मकवानपुर अहिले पनि तयार रहेको धारणा ब्यक्त गरे । उनले भने महासंघले यो आन्दोलनलाई निर्णायक बनाएर नलगेमा शिक्षकहरुको विशाल जुलुस जिल्ला जिल्लाबाट स्वत: स्फूर्त रुपमा काठमाडाैं घेर्न पुग्ने उनले चेतावनी दिए ।

यता शिक्षक संघ मकवानपुर अध्यक्ष गणेशप्रसाद हुमागाईले अब शिक्षकहरु कोही पनि यो र त्यो का नाममा बिभाजित नभई निर्णायक आन्दोलनमा सहभागी हुन आग्रह गरे । उनले जय नेपाल, लाल सलाम र नमस्ते जस्ता सबै शब्दलाई एकैपटक प्रयोग गरी शिक्षक एकतालाई सांकेतिक रुपमा ब्यक्त समेत गरेका थिए । कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक संगठनका मकवानपुर अध्यक्ष वसन्त राई, अखिल नेपाल शिक्षक संघ मकवानपुर अध्यक्ष कृष्णबहादुर बिष्ट, हिष्टुन बागमती प्रदेश अध्यक्ष रामशरण पौडेल, राहत शिक्षक समिति मकवानपुर अध्यक्ष जीवन तिमल्सिना लगायतकाले मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा प्रगतिशील नेराशि संगठन केन्द्रीय सचिव पुरुषोत्तम पौडेल, एकीकृत अनेशि संगठन प्रदेश अर्थ उपमहासचिव खेमराज लामिछाने, शिक्षक संघ वागमति प्रदेश सदस्य ज्ञानेन्द्र बर्तौला, नेपाल राष्ट्रिय शिक्षक संगठन बागमती प्रदेश सदस्य सुनिल गौतम लगायतको उपस्थिति रहेको थियो । शिक्षक महासंघ मकवानपुर अध्यक्ष जीधराज ढकालको अध्यक्षतामा सम्पन्न धर्ना कार्यक्रमलाई सचिव राजु गौतमले सञ्चालन गरेका हुन् ।

प्रथम चरणकै अन्तिम कार्यक्रम स्वरुप भने श्रावण ३२ गते प्रदेशस्तरीय महासंघका पदाधिकारी तथा प्रतिनिधिसहित सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालयमा सोही छायाँप्रति बुझाउँदै धर्ना दिने बताइएको छ । ३२ गते हुने कार्यक्रममा आफ्नो शक्ति र एकता प्रदर्शन गर्न सबै घटक संस्थाका शिक्षक नेताहरुले शिक्षक कर्मचारीलाई आग्रह समेत गरेकका छन् । महासंघले भाद्र १ गते संघीय संसद तथा केन्द्र सरकार एवम् शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा पक्षीकरण र विरोधबारे जानकारी दिने कार्यक्रम तय गरेको बताएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan