प्रस्तावित विद्यालय शिक्षा ऐनको विरुद्धमा आज देशभरका ७ वटै प्रदेशमा धर्ना कार्यक्रम सम्पन्न भएको शिक्षक महासंघ राष्ट्रिय समितिले जनाएको छ । राष्ट्रिय समिति अध्यक्ष कमला तुलाधरले आन्दोलनका क्रममा सहयोग पुर्याउनुहुने महासंघका सम्पूर्ण पदाधिकारी तथा घटक संस्थाका सम्पूर्ण व्यक्तित्वलाई आभार प्रकट गरेको प्रदेश सञ्चारलाई बताएकी हुन् ।
सातवटै प्रदेशमा महासंघको पूर्वघोषित कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गरिएको भएपनि महासंघले आगामी कार्यक्रमलाई निर्णायक बनाउँछ ? भन्नेमा शंका रहेको सरोकारवालाहरुले बताएका छन् । पटक पटक सरकारले शिक्षक आन्दोलनलाई सहमतीमा लगेर टुङ्ग्याउने र अन्त्यमा अनिर्णयको बन्दी बनाउने त हैन भन्नेमा आफूहरुको चिन्ता र चासो रहेको नेपाल राष्ट्रिय शिक्षक संगठन बागमति अध्यक्ष नीरबहादुर कार्कीले प्रदेश सञ्चारलाई बताउनुभयो । यता महासंघ अध्यक्ष तुलाधरले भने सबै घटक शक्तिहरु नै महासंघको बल भएकोले अबको आन्दोलन निर्णायक हुनेमा कुनै शंका नलिन सबैलाई आग्रह गरेकी छिन् । शिक्षक संगठन बागमती अध्यक्ष कार्कीले बागमती प्रदेश सामाजिक विकास मन्त्रलायको धर्ना कार्यक्रमलाई संवोधन गर्दै महासंघले छिट्टै काठमाण्डौ केन्द्रित आन्दोलन घोषणा गर्नेमा आफू लगायत सबै शिक्षकहरु विश्वस्त रहेको बताए ।
बागमति प्रदेशको सामाजिक विकास मन्त्रालय धर्ना कार्यक्रमलाई CNT का गुरु प्रसाद पौडेल, NTA संघीय उपमहासचिव प्रेमप्रसाद पौडेल, NNTA राष्ट्रिय कोषाध्यक्ष सूर्यराज बराल, UANTO का केन्द्रिय सदस्य रमेश अधिकारी, PNNTA का हरि बहादुर थापा, शिक्षक हकहीत मञ्चका केन्द्रिय अध्यक्ष ज्योतिनारायण ढकाल, ISTU का केन्द्रिय उपाध्यक्ष दीपक गौतम लगायतकाले संवोधन गरेका थिए ।
वक्ताहरुले शिक्षक महासंघले निर्णायक काठमाण्डौ केन्द्रित आन्दोलनको घोषणा गर्न ढिलाई गरे अब निरंकुशताको पराकाष्टा नेपाली शैक्षिक जगतले ब्योहोर्नुपर्ने धारणा व्यक्त गरेका थिए । नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुर अध्यक्ष श्रीराम दाहालले अब महासंघले जस्तोसुकै कदम चाल्नुपरेपनि तयार रहन र सरकारलाई दमनको शैलीमा नउत्रन आग्रह गरेका छन् । दाहालले शिक्षक आन्दोलनको जननी जिल्ला मकवानपुरको भूमीबाट २०२८ को मृत शिक्षा ऐनलाई पन्छ्याएर संघीय लोकतान्त्रिक गणतन्त्रको प्रत्याभूति सहितको शिक्षा ऐन लागू गराएरै छाड्ने उद्घोष समेत गरेका छन् ।
यता शिक्षक संघ मकवानपुर अध्यक्ष गणेश प्रसाद हुमगाईले अब यो आन्दोलनमा शिक्षकको कुनै वर्ग र पार्टी नरहेको भन्दै राज्यले बिखण्डन गरेका सबै प्रकारका शिक्षकलाई एउटै घेरामा गोलबन्द हुन आग्रह गरे । उनले अब महासंघ आत्तिन नहुने र एकताको शक्ति प्रदर्शन गर्न कुनै कशुर बाँकी राख्न नहुने धारणा व्यक्त गरे ।

