जनप्रिय माध्यमिक विद्यालय हेटौंडा १६ ले शैक्षिक वर्ष २०८० को प्रथम त्रैमासिक परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ । बाालबालिकाका अभिभावकहरु स्वयम्को उपस्थितिमा नतिजा प्रकाशन भएसंगै आवश्यक शैक्षिक परामर्श समेत प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चौलागाईले जानकारी दिए ।
बालबालिकाको त्रैमासिक परीक्षाको नतिजा र सिकाइ अवस्थाबारे अभिभावकको उपस्थितिमा परामर्श प्रदान गरिएको हो । सिकाइ गुणस्तर अभिवृद्धिका लागि जनप्रिय माविले शिक्षण सिकाइका अलावा विभिन्न विभागहरु मार्फत सहकृयाकलापलाई जोड दिएको प्रधानाध्यापक चौलागाईँले बताए। यसरी विद्यालयमा नै अभिभावक बोलाएर उनीहरुको अवस्थाबारे समेत जानकारी गराएकोमा अभिभावकहरुले खुशी व्यक्त गरेका छन् । जनप्रिय माविमा कक्षा ८ मा अध्ययन गर्दै आएका नाती विश्वास श्रेष्ठकी हजुरआमा दुर्गा घिमिरेले सरकारी विद्यालय भएपनि बोर्डिङ्ग स्कुल जस्तै सेवा प्रदान गरेको धारणा व्यक्त गरिन् ।
कक्षा शिक्षकबाट सम्बन्धित विद्यार्थी र अभिभावकलाई विद्यार्थीको उत्तरपुस्तिका हेर्ने व्यवस्था मिलाइएको र त्यो संगै विषयगत शिक्षकहरुसंग छलफल समेत गर्नेगरी नतिजा सार्वजनिक भएको हो । नमूना माध्यमिक विद्यालय भएका कारण विद्यालयले पठनपाठनका निम्ति पनि नमूना अभ्यास गर्दै आएको अंग्रेजी माध्यम संयोजक रविन श्रेष्ठले जानकारी दिए । कक्षा ९ अंग्रेजी माध्यमका कक्षा शिक्षक संप्रस पौडेलले अभिभावकहरुको उत्साह र जनप्रियप्रतिको आकर्षण नै आफूहरुको सफलता रहेको धारणा व्यक्त गरे ।
शैक्षिक गुणस्तर अभिवृद्धिका लागि जनप्रियले शुक्रबारीय र शनिबारीय नियमित परीक्षाको अवधारणा अघि सारेको छ । नियमित कक्षाको अलावा अतिरिक्त कक्षा पनि संगसंगै सञ्चालन हुँदै आएको छ । ए प्लस मात्र शिक्षाको गुणस्तरको मापदण्ड होइन । तथापि त्यो पनि उल्लेख्य मात्रामा सुधार भएको छ भन्दै प्रधानाध्यापक चौलागाईँले सहक्रियाकलापसंगै गुणस्तरप्रति पनि आफूहरु उत्तिकै लागिपरेको बताए ।


