Search
Close this search box.

नवोदयले नमूना राष्ट्रसंघीय सभाको आयोजना गर्दै

हेटौंडा–नवोदय शिशु सदनको आयोजनामा हेटौंडामा अन्तर्राष्ट्रिय नीतिनियम, योजना तथा समस्याको समाधानबारे वृहत विश्लेषणसहितको नमूना संयुक्त राष्ट्र संघीय सभाको आयोजना हुने भएको छ । विद्यार्थीहरुको नेतृत्व र व्यक्तित्व विकास, समालोचनात्मक सोचाई, सहकार्यलगायतका अन्तरनिहित प्रतिभाको विकास गराउने उद्देश्यले विद्यालयले एक वैचारिक कार्यक्रमको आयोजना गरेको हो ।

आगामी भदौ १४ गतेदेखि १६ गतेसम्म हेटौंडामा नमूना संयुक्त राष्ट्रसंघीय सभाको आयोजना गरिएको सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । संयुक्त राष्ट्र संघीय सभामा हुने कार्यक्रमहरुको नक्कल गरी सहभागीलाई विश्वव्यापी मुद्दाहरु र यसको सम्भावित समाधानहरुको बारेमा धारणा राख्ने मौका दिइने जनाइएको छ । कार्यक्रममा विभिन्न राष्ट्रका प्रतिनिधिको भूमिका निर्वाह गर्दै विद्यार्थीले राष्ट्रकै पक्षमा रहेर विश्वव्यापी मुद्दामा छलफल गर्ने नवोदयन नमूना संयुक्त राष्ट्रसंघका महासचिव रायन खनालले जानकारी दिए ।

नमूना राष्ट्र संघीय सभाका लागि ७ वटा निकायहरु पहिचान गरिएको छ । राष्ट्र संघका विभिन्न निकायको कार्य क्षेत्र भिन्दा भिन्दै हुन्छन् र तिनै कार्य क्षेत्रका मुख्य पूर्व निर्धारित समस्यामा वृहत छलफल गरेर कार्यक्रमलाई संचालन गरिने बताइएको छ । नमूना संयुक्त राष्ट्रसंघीय सभामा विश्व स्वास्थ्य सङ्गठन, संयुक्त राष्ट्र सुरक्षा परिषद, आर्थिक र वित्तीय मामिला परिषद, खाद्य र कृषि सङ्गठन, अन्तर्राष्ट्रिय श्रम सङ्गठन, संयुक्त राष्ट्र पर्यावरण कार्यक्रम र प्रतिनिधि सभा गरी ७ वटा निकायहरु परिकल्पना गरिएको छ । ती सातवटै निकायहरुको एजेन्डाहरुको पूर्वनिर्धारण गरिएको छ ।

कार्यक्रममा हेटौंडा–४ मा रहेको नवोदय शिशु सदनसहित मकवानपुर बाल विद्या सदन, कमाने एकेडेमी, चितवनको अर्किड स्कूल, नवलपरासीको गैंडाकोट स्कूल, बुटवलको एपेक्स स्कूलका विद्यार्थीले पनि सहभागिता जनाउनेछन् । क्लव हेटौंडा पार्टी प्यालेसमा हुने नमूना संयुक्त राष्ट्रसंघीय सभामा करिब एक सय ६० जना विद्यार्थीको सहभागिता रहने अनुमान गरिएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan