Search
Close this search box.

बालमैत्री विद्यालय बन्दै जनप्रिय मावि

जनप्रिय मावि हेटौंडा १६ हटिया बालमैत्री विद्यालय घोषणा हुने अन्तिम चरणमा पुगेको छ । हेटौंडा नगर बालमैत्री पालिका घोषणा हुने क्रममा जनप्रिय माविले नगरमा नै पहिलो बालमैत्री विद्यालय हुन आफ्नो तीब्रता बढाएको हो । विद्यालय व्यवस्थापन समितिका सदस्य कृष्ण प्रसाद पनेरु र प्रधानाध्यापक भुपेन्द्र चौलागाईको नेतृत्वमा गएको र्यालीले आजै हेटौंडा १६ को चिसापानी परिक्रमा गरेको छ ।

चिसापानी परिक्रमा गर्ने क्रममा विद्यालयका बालबालिकाहरुले बाल श्रम अन्त्य गरौं, महिला हिंसा अन्त्य गर्, विहेबारी बीस वर्ष पारी जस्ता सामाजिक सचेतनाले भरिएका नारा लगाएका थिए । विद्यालयले बालमैत्री विद्यालय बनाउन लामो समय अघिदेखि बालमैत्री सूचकहरुलाई कार्यान्वयनमा ल्याउँदै आएको प्रधानाध्यापक चौलागाईले बताए ।

यता जनप्रियमा २ दिने अभिभावक प्रशिक्षण तथा अन्तर्क्रिया कार्यक्रमको आज समापन गरिएको छ । हेटौंडा उपमहानगर १६ का अध्यक्ष एवम् सामाजिक विकास संयोजक रामकृष्ण कोईरालाको प्रमुख आतिथ्यता तथा विव्यस सदस्य कृष्ण प्रसाद पनेरुको विशेष आतिथ्यतामा उद्घाटन गरिएको भेलामा पहिलो दिनको पहिलो सत्रमा नेपाली माध्यमतर्फ प्राथमिक तह र दोस्रो सत्रमा माध्यमिक तहका अभिभावकहरुको भेला गरिएको थियो । प्रशिक्षणात्मक सत्रलाई प्रशिक्षकहरु प्राध्यापक तथा सञ्चारकर्मी सुरेश श्रेष्ठ र प्राध्यापक एवम् समाजसेवी अर्पण पराजुलीले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा अभिभावकहरुले अन्तर्क्रिया समेत गरेका थिए । आज दोस्रो दिनको भेलामा अंग्रेजी माध्यम तथा बालीविज्ञान तर्फका विद्यार्थी र अभिभावकहरुलाई प्रशिक्षण एवम् अन्तर्क्रिया गरिएको थियो ।

कार्यक्रममा विशेष अतिथि पनेरुले विद्यालयलाई विग स्कुलका रुपमा विकास गर्न आफूहरु लागिपरेको र सबैको उत्तिकै सहकार्य आवश्यक रहेको बताएका थिए । प्रधानाध्यापक चौलागाईले यस्ता अन्तर्क्रियाले आफूहरुलाई अझै राम्रो गर्न र शैक्षिक गुणस्तर सुधार गर्न सहयोग पुग्ने बताएका थिए । भेलामा शिक्षक अभिभावक संघका गोविन्द दुलाल, सहायक प्रधानाध्यापक रामआशिष मण्डल, नेपाली माध्यम संयोजक नीरबहादुर खड्का, अंग्रेजी माध्यम संयोजक रविन श्रेष्ठ, जनप्रिय अतिरिक्त क्रियाकलाप तथा सांस्कृतिक विभाग संयोजक युक्तलाल विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो । दुबै दिनको कार्यक्रमलाई जनप्रिय मिडिया विभागका संयोजक सुनिल गौतमले सञ्चालन गरेका हुन् ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan